काठमाडौं, कात्तिक १५ – भारतबाट आयात हुने बिजुली यस वर्ष युनिटमा पाँच पैसा सस्तो पर्ने भएको छ। यस वर्ष भारतबाट ल्याउने बिजुलीमध्ये २० मेगावाट बिजुली प्रति युनिट भारु ४.३० (नेपाली रुपैयाँ ६.८८) मा पावर ट्रेडिङ कर्पोरेसनले दिने भएको छ।
यो बिजुली खरिदको सम्झौता गर्न बुधबार प्राधिकरणका अधिकारीहरु भारत जाँदैछन्। हरेक वर्ष नेपालले टनकपुरबाट आयात गर्ने बिजुलीका लागि भारतसँग सम्झौता गर्नुपर्ने प्रावधान छ। त्यसै अनुसार यसपटकको सम्झौतामा नेपाललाई प्रति युनिटमा भारतीय पाँच पैसा सस्तो पर्ने भएको हो।
यसपटक लोडसेडिङलाई दैनिक १२ घन्टाभन्दा नबढाउन प्रधानमन्त्रीले भारतबाट दुई सय मेगावाट बिजुली आयात गर्न निर्देशन दिइसकेका छन्। अहिले सञ्चालनमा रहेका क्रसबोर्डर प्रसारण लाइनबाट ३१ लाख ५० हजार युनिट र नयाँ लाइन बनाएर १३ लाख ५० हजार युनिट बिजुली आयात गर्ने गरी सरकारले लोडसेडिङ न्यूनीकरण कार्ययोजनासमेत पारित गरिसकेको छ।
यसपटक वर्षाको समयमा समेत पानी कम परेर कुलेखानीको जलाशय भरिन पाएन। त्यसले गर्दा हिउँदमा लोडसेडिङ कम गर्न भारतबाट आयात गर्ने, थर्मल प्लान्ट चलाउने जस्ता कार्यक्रम सरकारले राखेको छ।
प्रस्तुति: नागरिक