NepalEnergyForum

भारतबाट अब काठमाडौंमा सिधै बिजुली

काठमाडौं । भारतबाट आयात हुने बिजुली अब सिधै काठमाडौंसम्म ल्याउन सकिने भएको छ ।
प्रसारण प्रणालीको समस्याका कारण अहिलेसम्म भारतबाट ल्याइएको बिजुली काठमाडौंसम्म आपूर्ति गर्न सकिएको थिएन ।
भारतको मुजफपुर–ढल्केबर ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारणलाइनबाट ढल्केबर–चन्द्रनिगाहपुर–हेटौँडा हुँदै काठमाडौको मातातीर्थ सव–स्टेशनमा बिजुली जोडिने गरी काम सुरू भएको छ ।
भारतबाट सिधै बिजुली काठमाडौं ल्याएपछि उपत्यकासहित देशभर लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणको अभियानलाई थप सहयोग पुग्नेछ ।
१ महिनाभित्र भारतको विद्युत् प्रणालीसँग नेपालको केन्द्रीय ग्रीड जोडिने (सिन्क्रोेनाइजेशन) भएपछि काठमाडौंमा सिधै भारतबाट बिजुली ल्याउन सम्भव हुने प्राधिकरणले जनाएको छ ।
भारतको विद्युत प्रणालीसँग नेपालको केन्द्रीय ग्रीड जोड्नका लागि आवश्यक प्राविधिक अध्ययन सम्पन्न भइ काम सुरू भइसकेको छ ।
अबको १ महिनाभित्र सम्पूर्ण काम पूरा भई भारतको बिजुली सिधै काठमाडौंसम्म आइपुग्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
भारतको मुजफपुर–ढल्केबर ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारणलाइनबाट ढल्केबर–चन्द्रनिगाहपुर–हेटौँडा हुँदै काठमाडौको मातातीर्थ सवस्टेशनमा बिजुली जोडिने गरी काम सुरू भएको अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।
प्राधिकरण प्रणाली योजना विभागका उपप्रवन्धक मनिलनिधी तिवारी र प्रणाली सञ्चालन विभागका सहायक प्रवन्धक विनोद लोहनी रहेको प्राविधिक टोलीले भारतको विद्युत् प्रणालीलाई नेपालको केन्द्रीय प्रणालीमा जोडन आवश्यक प्राविधिक मापदण्ड तथा सुरक्षा उपकरण जडान सम्बन्धि अध्ययन प्रतिवेदन तयार गरेको थियो ।
सोही प्रतिवेदन एक महिनाभित्र कार्यान्वयनमा ल्याई मुलुकलाई लोडसेडिङमुक्त बनाउने अभियानलाई निरन्तरता दिइने अधिकारीले बताए ।
उनका अनुसार भारतीय विद्युत् प्रणालीलाई मुजफपुर–ढल्केबरबाट नेपालका अन्य ग्रीड प्रणालीमा जोड्न विभिन्न ८ वटा सवस्टेशनमा विशेष सुरक्षा प्रणाली (एसपीएस) जडान गरिने छ । जसअनुसार ढल्केबर, चन्द्रनिगाहपुर कमाने, भरतपुर, बुटबल, भक्तपुर, हेटौँडा र लमही गरी ८ वटा सव–स्टेशनमा विशेष सुरक्षा प्रणाली जडान हुनेछ ।

सुरक्षा प्रणाली जडानपछि मुजफपुर–ढल्केबर प्रसारणलाइनमा कुनै समस्या आएर व्ल्याकआउट भए पनि अवरोध नहुने गरी सुरक्षा प्रणाली अपनाइएको उनले स्पष्ट पारे । अधिकारीका अनुसार सुरक्षा उपकरण प्रणाली एक महिनाभित्रै जडान भइसक्नेछ । सबै सव–स्टेशनमा अप्टिकल फाइबरको पहुँच पुगेकाले झन सहज हुने उनको तर्कछ । ८ वटै सबस्टेशनले १८० मेगावाट बिजुली प्रवाह गर्ने क्षमता रहेको अधिकारीले बताए । लोडसेडिङ अन्त्यका लागि यो प्रसारणलाइनबाट एक महिनापछि १६० मेगावाट बिजुली आयात हुनेछ । हाल ८० मेगावाट बिजुली आपूर्ति भइरहेको छ । अब आपूर्ति हुने १६० मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ (३ रुपैयाँ ४४ पैसा भारु) मा खरिद सम्झौता भएको छ । यो सबैभन्दा सस्तो दर हो । यस्तै थप ८० मेगावाट बिजुली ल्याउन मुजफपुरमा १ सय एमबीएको ट्रान्सफर्मर जडान भइसकेको उनले बताए ।

ढल्केबरमा २२० केभी क्षमताको सवस्टेशन सम्पन्न हुन केही महिना लाग्ने भएकाले यो सुरक्षा प्रणाली अपनाएको उनले जानकारी दिए ।
मुलुकलाई लोडसेडिङमुक्त बनाउन विद्युत् प्राधिकरणले भारतबाट साढे ५ सयदेखि ६ सय मेगावाट बिजुली आयात गर्दैछ । जसअनुसार ढल्केबर–मुजफपुर, कटैया–कुसाह, परावनीपुर–रक्सौल र टनकपुरबाट थप बिजुली आयात गर्ने लक्ष्य छ । टनकपुरबाट थप ३० मेगावाट बिजुली आयात भइसकेको छ ।
अहिले भारतबाट आइरहेको बिजुलीमा २२० मेगावाट थप गर्दा देशभर लोडसेडिङ् नहुने प्राधिकरणको अनुमान छ । भारतबाट गतवर्षसम्म ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो । दुई साताअघि कार्यकारी निर्देशक कुलमान घिसिङ्को नेतृत्वमा भारत गएको प्राधिकरण उच्चस्तरीय टोलीले भारतको केन्द्रीय विद्युत् प्राधिकरण, पावर ट्रेडिङ कर्पोरेशन (पीटीसी) का उच्च अधिकारीसँग वार्ता गरेको थियो ।
वार्तापछि डिसेम्बरसम्म नेपालमा बिजुली आयातका लागि प्रसारण र टान्सफर्मर जडानलगायत आवश्यक पुर्वाधार तयार गरी जनवरी १ देखि थप बिजुली आपूर्ति गर्ने सहमतिअनुसार काम अघि बढेको हो ।

५६० देखि ६०० सय मेगावाट बिजुली आयात गर्न आवश्यक पूर्वाधारको काम त्यसबेलासम्म सकि सक्ने सहमति भएको हो । टनकपुर नाकाबाट थप ३० मेगावाट प्रतियुनिट ५ रुपैयाँ ५ पैसा (३ रुपैयाँ ४४ पैसा भारु) मा दिएको छ ।
टनकपुर बिन्दुबाट थप बिजुली आयात गर्नका लागि हालको ५० एमबीएको टान्सफर्मरको क्षमता बढाई १ सय केभीएको जडान गर्नका लागि आवश्यक अध्ययन सुरु गर्ने सहमति भएको छ । १ सय एमबीए क्षमताको टान्सफर्मर जडान गरेपछि थप ४० मेगावाट बिजुली आयात हुनेछ । यस्तै भारतको सहयोगमा निर्माण भइरहेको रक्सौल– परवानीपुर र कटैया– कुसाह १३२ केभी प्रसारणलाइनको काम पनि सम्पन्न हुँदैछ । कुसाह–कटैयाबाट थप ५० र रक्सौल परवानीपुरबाट थप ५० गरी १ सय मेगावाट आपूर्ति हुनेछ ।

Source: Baahrakhari