प्राधिकरणले बढी भएको बिजुली नकिन्दा चिलिमे हाइड्रोपावरले गुमायो ७० लाख, ९३ करोड ८७ लाख नाफा

    1178

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बढी उत्पादन भएको बिजुली नकिन्दा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले ७० लाख रुपैयाँसम्म आम्दानी गुमाएको छ । थप आम्दानी गुमाएपछि कम्पनीले नाफा बढाउन सकेको छैन् । चिलिमे विद्युत प्राधिकरणको सहायक कम्पनी हो ।

    यो वर्षदेखि विद्युत खरिद सम्झौता (पीपीए) भन्दा बढीको बिजुली नकिनेपछि सो रकम गुमाएको चिलिमेका प्रवन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले बताए । पीपीएमा बढी उत्पादन भएको बिजुली किन्नु पर्ने व्यवस्था नभएपछि प्राधिकरणले खरिद गर्दै आएको श्रेष्ठको भनाई छ । प्राधिकरणले गत वर्षदेखि बढी भएको बिजुली किन्न छाडेको उनले जानकारी दिए । प्राधिकरणले पीपीएको आधि मूल्यमा बढी भएको बिजुली किन्दै आएको थियो । चिलिमेले २२ मेगावाट क्षमताको आयोजना सञ्चालन गर्दै आएको छ ।

    “खै के कारणले हो, यो वर्षदेखि चिमिलेको बढी उत्पादन भएको बिजुली प्राधिकरणले किनेन” उनले भने “बढी उत्पादन भएको बिजुली नकिन्दा चिलिमेले ५० देखि ७० लाख रुपैयाँ आम्दानी गुमाएको छ ।” पीपीएमा बढी भएको बिजुली किन्नु पर्ने प्रावधान नभएपनि विगतका वर्षमा बढी उत्पादन भएको बिजुली खरिद गर्दै आएको उनको भनाई छ । प्राधिकरणले थप बिजुली नकिन्दा आम्दानीमा कमी आएको छ ।

    गत आर्थिक वर्ष ०७४÷०७५ मा ९३ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा १६ लाख रुपैयाँ मात्र बढाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७३÷०७४ मा ९३ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकबाट प्राप्त ब्याज आम्दानीले नाफा बढाएको चिलिमेले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

    प्राधिकरणले बढी भएको बिजुली नकिन्दा र बिक्रीबाट हुने आम्दानी ४.८८ प्रतिशत घटेर १ अर्ब १३ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष १ अर्ब १९ करोड ६८ लाख रुपैयाँ बिजुली बिक्रीबाट आम्दानी भएको चिलिमेले जनाएको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६८ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी २८ रुपैयाँ थियो ।

    २७० मेगावाट क्षमताका ४ जलविद्युत आयोजना निर्माण गरिरहेको चिलिमेले ४२० मेगावाटको बुढीगण्डकी प्रोक, १६५ मेगावाटको सेती नदी ३ र ६० मेगावाटको स्यारखोला आयोजना बनाउनका लागि सर्वेक्षणको काम थाल्न अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ ।

    -विकासन्युज