NepalEnergyForum

प्रहरीले ४९ मेगावाटको जलविद्युत आयोजना बनाउने

नेपाल प्रहरीले आफ्ना बहालवाला र सेवा निवृत्त सदस्यको लगानीमा ४९ मेगावाटको जलविद्युत आयोजना बनाउने भएको छ। नागरिक दैनिकमा समाचार छ। प्रहरीले दीर्घकालीन आम्दानीको स्रोत तयार गर्ने क्रममा जलविद्युत आयोजना बनाउन खोजेको हो। 

 साढे आठ अर्ब रुपैयाँ पूँजी लगानी हुने अनुमान गरिएको आयोजनाका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। 

३० प्रतिशत (दुई अर्ब ५४ करोड) सेयर पूँजी र ७० प्रतिशत (पाँच अर्ब ९६ करोड) ऋण लगानीबाट आयोजना सम्पन्न गर्ने लक्ष्य छ। उक्त कम्पनीको सेयरमा सर्वसाधारणले पनि लगानी गर्न पाउनेछन्। 

नाम सार्वजनिक नगरिएको उक्त जलविद्युत आयोजना थप अध्ययनको चरणमा छ। आयोजनाको अनुमतिपत्र लिने प्रक्रिया भने सुरु भइसकेको स्रोतले बतायो। नेपाल प्रहरी कल्याण कोष र नेपाल जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको सहकार्यमा प्रस्तावित आयोजना बन्नेछ। 

‘नेपाल सरकारको ५१ प्रतिशत पूँजी लगानी रहेको जलविद्युत लगानी तथा विकास कम्पनीमार्फत उक्त जलविद्युत परियोजना स्थापनासम्बन्धी अवधारणापत्र तयार भइसकेको छ,’ प्रहरी प्रधान कार्यालयको कल्याणले मातहतका निकायलाई यस सम्बन्धमा जानकारी गराउन चैत ११ गते जारी गरेको पत्रमा भनिएको छ। 

————————————————————————————————————————-

सेनालाई किन पछ्याउँदै छ प्रहरी ?

काठमाडौं, २२ चैत । नेपाली सेनाले जलविद्युतमा लगानी गर्न प्रस्ताव अघि बढाएपछि नेपाल प्रहरीले पनि त्यस्तै लगानीका लागि सवा अर्ब उठाउने तयारी गरेको छ ।

कल्याणकारी कोषले जलविद्युत क्षेत्रमा लगानी गर्नेभन्दै प्रहरी जवानसँग प्रहरीले पैसा उठाउन लागिएको हो । तरुण साप्ताहिकले समचार छापेको छ ।

नेपाल जलविद्युत लगानी तथा विकास कम्पनीसँगको सहकार्यमा कुल लगानीको एक अबै १४ करोड नेपाल प्रहरीका बहालवाला तथा पूर्वप्रहरीहरूको सेयर रहने गरी लगानी गर्ने तयारी भएको हो ।

नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत बहालवाला तथा सेवा निवृत्त प्रहरी र्कमचारीका लागि सूचना जारी गर्दै नेपाल सरकारको ५१ प्रतिशत सेयर रहेका जलविद्युत परियोजनामा लगानी गर्ने बताइएको छ ।

त्यसका लागि इच्ुछक कर्मचारीहरू २०७३ वैशाखको पहलो हप्ताभित्र लगानी गर्न चाहेको रकमसहित खुलाएर कल्याणकोषमा विवरण पठाउनुपर्नेछ । तर कुन परियोजनाको हो ? त्यसको व्यवस्थापनले कसरी हुन्छ ? भन्नेबारे केही उल्लेख गरेको छैन ।

—————————————————————————————————————————