NepalEnergyForum

पञ्चकन्या माई हाइड्रोपावर ले संकलन गर्यो ५० करोड

इलाममा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले शेयरमार्फत ५० करोड रुपैयाँ संकलन गरेको छ । प्रभावित क्षेत्रका वासिन्दाका लागि आह्वान गरेको सेयरका लागि इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका स्थानीयबाट सो रकम संकलन भएको हो ।
गत माघ ५ गतेदेखि २३ गतेसम्म सेयर खरिदका लागि आह्वान गरेको हाइड्रोमा लक्ष्यभन्दा धेरै बढी रकम संकलन भएको हो । हाइड्रोले जम्मा ११ लाख कित्ता अर्थात् ११ करोड रुपैयाँको सेयर निष्कासन गरेकोमा ५० करोड रुपैयाँ बराबरको माग परेको हो ।
हाइड्रोले अति प्रभावित र प्रभावितका लागि छुट्टाछुट्टै गरेर ११ लाख कित्ता अर्थात् ११ करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । अति प्रभावित भनेर सन्दकपुर गाउँपालिकाका लागि ६ लाख ६० हजार कित्ता (६० प्रतिशत) अर्थात् ६ करोड ६० लाख रुपैयाँ र प्रभावित भनेर इलाम नगरपालिकामा ४ लाख ४० हजार कित्ता (४० प्रतिशत ) अर्थात् ४ करोड ४० लाख रुपैयाँबराबरको सेयर निस्कासन गरेको थियो ।
हाइड्रोका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानका अनुसार सन्दकपुर गाउँपालिकामा चाहिएभन्दा साढे दुई गुणा बढी शेयर रकम संकलन भएको छ । सो गाउँपालिकामा ६ लाख ६० हजार कित्ता शेयर निस्काशन गरेकोमा १७ करोड रुपैयाँ सेयर रकम संकलन भएको छ । यस्तै इलाम नगरपालिकामा ४ लाख ४० हजार कित्ता सेयर निष्कासन भएकोमा ३३ करोड रुपैयाँ संकलन भएको छ । हाइड्रोले जिल्लाका तीनवटा बैंक सनराइज, प्रभु र लक्ष्मी बैंकसहित सन्दकपुर गाउँपालिकाको कार्यालय र माबु हाइड्रोको कार्यालयबाट सेयर रकम संकलन गरेको थियो ।
सेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम ५ हजार ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था थियो । कम्पनीले इलाम सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत् आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई हाइड्रोपावर आयोजना सञ्चालनमा ल्याएको छ । त्यस्तै ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना पनि निर्माण सम्पन्न भएको छ ।
१२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर निस्कासन गरिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए ।हाइड्रो सन्दकपुर गाउँपालिकाको माबु र सुलुबुङ गाउँपालिकाको विचमा रहेको माइखोलामा सञ्चालन भइरहेको छ ।

:कारोबार