NepalEnergyForum

नलसिंहगाडमा कार्यकारी नियुक्त

काठमाडौं, कात्तिक १९ (नागरिक)- विकास समितिमार्फत निर्माण गर्न लागिएको नलसिंहगाड जलविद्युत आयोजनामा सरकारले कार्यकारी निर्देशक नियुक्त गरेको छ।
विद्युत विकास विभागका उपमहानिर्देशक सञ्जय शर्मालाई यो आयोजना निर्माणको प्रक्रिया अघि बढाउन कार्यकारी निर्देशक बनाइएको छ।  मन्त्रिपरिषद्ले एक महिनाअघि नलसिंहगाड आयोजना विकास समितिमार्फत अघि बढाउन ‘नलसिंहगाड जलविद्युत आयोजना विकास समिति’ गठन गर्ने निर्णय गरेको थियो। यसका लागि सरकारले अध्यक्ष नियुक्त गर्ने तयारी गरेको छ।

रुकुम र जाजरकोटमा पर्ने यो आयोजनाबाट ४ सय मेगावाट विद्युत उत्पादन हुने प्रारम्भिक सर्वेक्षणले देखाएको छ। यो आयोजना कुलेखानी जस्तो स्टोरेज (पानी जम्मा गरेर बिजुली चाहिएको बेलामा सञ्चालन गर्ने) प्रकृतिको छ।
यो आयोजनाको समितिमा ऊर्जा, कानुन, वन, अर्थ, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सदस्य छन्। सरकारले ल्याएको लोडसेडिङ न्यूनीकरण कार्ययोजनामा नलसिंहगाड आयोजना आठ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
कार्ययोजनामा आँधीखोला -एक सय ८० मेगावाट), उत्तरगंगा -तीन सय मेगावाट), बुढीगण्डकी (६ सय मेगावाट), दूधकोसी (तीनसय ५० मेगावाट) र पश्चिमसेती (सातसय ५० मेगावाट) का आयोजना आठ वर्षभित्र निर्माण पूरा गरेर बिजुली उत्पादन गर्ने उल्लेख छ। यीमध्ये सरकारले आफ्नै पहलमा विकास समितिमार्फत निर्माण गर्ने बुढीगण्डकी र नलसिंहगाडमात्र हुन्। बुढीगण्डकीको विकास समितिमार्फत अघि बढाउन राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी ऊर्जा मन्त्रालयले गरेको छ।

प्रस्तुति: नागरिक