NepalEnergyForum

त्रिशूली गल्छीका लागि अपिको हकप्रद

अपि पावर कम्पनी लिमिटेडले ७५ मेगावाटको त्रिशूली गल्छी जलविद्युत् आयोजना निर्माणका लागि हकप्रद शेयर निकाल्ने भएको छ । उसले १ः२ का दरले शेयर निकाल्न लागेको हो । ‘हामीले यो निर्णय चैतमा सम्पन्न हाम्रो वार्षिक साधारणसभाबाटै पारित गराइसकेका थियौं,’ अपिका परियोजना निर्देशक महेन्द्र न्यौपानेले भने, ‘धितोपत्र बोर्डले जति छिटो अनुमति दिन्छ, त्यति नै छिटो शेयर खुल्ला गर्छौं ।’

शेयर निष्कासनसम्बन्धी नियममा फेरबदल गर्न बोर्डले एक महीनाको समय मागेका कारण त्यसभन्दा पछि नै शेयर निष्कासन हुने सम्भावना रहेको न्यौपानेले बताए । ‘होइन भने त असोज १ गते शेयर निष्कासन गर्ने र त्यसको ४ वर्ष अवधिमा गल्छी हाइड्रोको निर्माण सम्पन्न गर्ने हाम्रो योजना हो,’ न्यौपानेले थपे, ‘बोर्डको अनुमतिका कारण एक महीनासम्म धकेलियो भने त ४ वर्षको अवधिभित्रै त्यो एक महीनालाई पनि कभर गर्न सकिन्छ, त्योभन्दा धेरै समय धकेलियो भनेचाहिँ परियोजना सम्पन्न गर्ने अवधि लम्बिन्छ ।’

१४ अर्बभन्दा बढीको अनुमान गरिएको त्रिशूली गल्छी जलविद्युत् आयोजनाको १० प्रतिशत लगानी यस परियोजनाको विकासकर्ता सिद्धकाली पावर लिमिटेडले लगानी गर्नेछ । त्यसैगरी १० प्रतिशत स्थानीयवासीमा शेयर वितरणमार्फत उठाउने र बाँकी ८० प्रतिशत अपिको हकप्रद शेयरबाट उठाउने आयोजनाको योजना थियो । तर, आईपीओ पनि खोल्नुपर्ने जस्तो कुरा बोर्डबाट आएकाले १५ प्रतिशत जति आईपीओबाट उठाउने र बाँकी ६५ प्रतिशतका लागि मात्रै अपिको हकप्रद जारी हुने सम्भावना रहेको अपिका परियोजना निर्देशक न्यौपानेले बताए । हकप्रद शेयरबाट करीब २ अर्ब रुपैयाँ उठ्ने उनको विश्वास छ ।

परियोजना डिजाइनको काम सकिएको त्रिशूली गल्छीको जग्गाको काम पनि लगभग ७० प्रतिशत सकिइसकेको छ ।

स्रोत : अभियान