NepalEnergyForum

तामाकोसी ३ र तमोर बनाउन चिनियाँ कम्पनीको प्रस्ताव

चीनको चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सीएमईसी) ले तामाकोसी तेस्रो र तमोर जलाशययुक्त आयोजना निर्माण गर्न लगानी बोर्डमा प्रस्ताव गरेको छ ।

सीएमईसी कम्पनीले ६५० मेगावाटको माथिल्लो तामाकोसी तेस्रो र ७६२ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजना बनाउन प्रस्ताव गरेको जनाएको छ ।

कम्पनीले लगानी बोर्डमा यी दुई आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन विथ फाइनान्सिङ (ईपीसीएफ) मोडलअन्तर्गत बनाउने प्रस्ताव राखेको कम्पनीका नेपाल प्रतिनिधि विश्वास खतिवडाले जानकारी दिए ।

अहिले कम्पनीले प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री जनार्दन शर्मालगायतसँग भेटेर आयोजना ईपीसीएफ मोडेलमा बनाउन तयार रहेको खतिवडाले बताए ।

 भारत निर्यात गर्ने गरी नर्बेजियन कम्पनीले यसअघि तामाकोसी तेस्रोको अनुमतिपत्र पाए पनि विभिन्न कारण जनाउँदै आयोजनाबाट हात झिकेको थियो ।

हाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको तमोर आयोजना ७६२ मेगावाट बनाउँदा अनुमतिपत्र लिइसकेको ३७.६ मेगावाटको काबेली ‘ए’ लगायतका जलविद्युत् आयोजनामा असर पर्ने भन्दै विद्युत् विकास विभागले ३ सय मेगावाटको मात्र लाइसेन्स दिएको छ ।

 दोलखा र रामेछाप जिल्लामा अवस्थित तामाकोसी तेस्रो आयोजना बनाउन करिब एक खर्ब ३७ अर्ब रुपैंया लाग्ने अनुमान छ भने ताप्लेजुङमा रहेको तमोर आयोजना बनाउन करिब डेढ खर्ब रुपैंयाँ लाग्ने प्रक्षेपण गरिएको छ । दुई आयोजना बनाउन कम्पनीका प्रतिनिधि दुई पटक नेपाल भ्रमण गरिसकेका छन्

नेपालमा लगानी गर्न कम्पनीले चीनको आईसीबीसी बैंकमार्फत लगानीका लागि प्रस्ताव लगानी बोर्डमा दर्ता गरेको जनाएको छ । तत्कालअघि बढाउन कम्पनीले आफ्नै लगानीमा सम्भाव्यता अध्ययन गर्न सरकारसँग अनुमति मागेको छ ।

सीएमईसी कम्पनीले विश्वका १५० देशमा ऊर्जा र पूर्वाधारको क्षेत्रमा काम गरिरहेको जनाएको छ । खतिवडाका अनुसार यस कम्पनीको वार्षिक कारोबार करिब ४ खर्ब नेपाली रुपैयाँ रहेको छ ।

@ कारोबार