NepalEnergyForum

तल्लो मोदीको विद्युत् उत्पादन पुसदेखि

कार्तिक १७, २०७४-२० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुसदेखि हुने भएको छ । आयोजना प्रमुख पवनकुमार यादवका अनुसार ९२ प्रतिशत निर्माण सम्पन्न भएको र कामले तीव्रता पाएकाले उत्पादन छिट्टै हुने भएको हो ।

आयोजनाको ०६९ साउनमा निर्माण थालिएर ६० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिए पनि निर्धारित समयमा प्रगति भएको थिएन । ‘बर्खामा टनेलभित्र पहिरो जाने, भासिने, भित्रै बाढी पस्नेजस्ता प्राकृतिक समस्याले निर्धारित समयभन्दा केही ढिला भयो,’ उनले भने, ‘अब पुसभित्रमा उत्पादन थाल्ने अवस्थामा पुग्ने तयारीका साथ काम भइरहेको छ ।’ निर्माणको कामलाई यतिबेला तीव्रता दिइएको उनले बताए । युद्धस्तरमा काम नगरे लागतसमेत बढ्ने उनले सुनाए । भौतिक संरचनाअन्तर्गत सुरुङको काम सकिएको छ । पावरहाउससम्म पाइप बिच्छयाउन, पावरहाउसका केही फिनिसिङ, टर्बाइन र जेनेरेटर जडानका काम केही बाँकी रहेको आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्बासेले बताए ।

‘कन्स्ट्रक्सनकै काम सक्न अझै दुई महिना लाग्ने देखिन्छ,’ उनले भने, ‘तैपनि कामले यतिबेला गति लिएको छ ।’ केही दिनयता आयोजनाले दैनिक दुई सिफ्टमा काम गरिरहेको जनाएको छ ।

आयोजनाको ३ अर्ब ६० करोड रुपैयाँको लागत स्टिमेटमा काम थालेको आयोजनाले निर्धारित म्यादमा काम नसकेपछि लागत बढ्दै गएको हो । विद्युत् प्राधिकरणसँग ०६८ भदौमा विद्युत् खरिद सम्झौता भएको थियो । आयोजनाको वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको इन्जिनियरिङलगायत कन्स्ट्रक्सनको काम मनाङ ट्रेड लिंक र साउथ एसियन इन्फास्ट्रक्चरले गरेका छन् ।

मनाङले डयामलगायत (आउटलेन्ड) र साउथले टनेल, इन्जिनियरिङसहित पूर्वाधारको काम गरिरहेको छ । आयोजनामा नेपाल इन्भेस्टमेन्टसहित ११ वाणिज्य बैंक, उद्योगी पशुपति मुरारका, जलस्रोतविज्ञ ज्ञानेन्द्रलाल प्रधानलगायतको लगानी छ ।

कुस्मा नगरपालिका र मोदी गाउँपालिका आयोजनाका प्रभावित क्षेत्र हुन् । मोदीको तिलाहारबाट ४२ सय मिटर लामो सुरुङ हँुदै कुस्मा नगरपालिकाको चुवास्थित परादीमा आयोजनाको पावरहाउस रहनेछ ।

स्रोत : कान्तिपुर