NepalEnergyForum

तल्लो मोदीको काम अन्तिम चरणमा

मंसिर  १८, २०७३- पातीचौरमा निर्माणाधीन २० मेगावाटको तल्लो मोदिखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आगामी असारभित्रै उत्पादन थाल्ने लक्ष्य रहेको आयोजनाको हालसम्म बाँध, टनेल, पावरहाउस र इन्टेकलगायतको काम पूरा हुन लागेको हो ।

आयोजनाको टनेल, पावरहाउस, बाँध र इन्टेकलगायतका मुख्य काम अन्तिम चरणमा पुगेकाले चालु आर्थिक वर्षभित्रै उत्पादन थाल्ने आयोजना इन्जिनियर शरद बास्तोलाले जनाए । ‘अहिले फुल फेजमा चौबिसै घण्टा काम भइरहेको छ,’ इन्जिनियर बास्तोलाले भने, ‘अब टर्बाइन फाउन्डेसनको काम अलि बढी छ । त्यो पनि असारभित्रै सक्छौं र परीक्षण उत्पादन सुरु हुन्छ ।’ अहिले तीन सयभन्दा बढी कामदारले दिउँसो र राति आलोपालो काम गरिरहेको उनले बताए ।

आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्बासेका अनुसार गएको असोजमै उत्पादन दिने लक्ष्य रहेकामा भूकम्प र नाकाबन्दीका कारण निर्माण समय लम्बिएको हो । आयोजनाले बाँध, पावरहाउस र टनेलको कामलाई अहिले बढी प्राथमिकता दिएको छ । नदी सतहदेखि टनेलसम्म पुग्ने क्षेत्रको काम ९० प्रतिशत भन्दा बढी सकिएको आयोजनाले जनाएको छ । पातीचौरबाट सुरु भई ४२ सय मिटर टनेल चुवाको परादीमा टुंगिन्छ । टनेलको इन्लेट, आउटलेट, अडिट–१ र अडिट–२ गरी चार ठाउँबाट खनिएकाले सबैतिरको काम अन्तिम चरणमा छ । ‘अब टनेलभित्र र बाहिर डेफ्त लेभलका केही काम मात्रै बाँकी छन्,’ इन्जिनियर बाँस्तोलाले भने, ‘सबैतिर स्पीडमा काम भएकाले अब धेरै समय लाग्दैन ।’ ४२ सय मिटर सुरुङमध्ये अब करिब तीन सय मिटर मात्रै खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

आयोजना पूरा भएपछि वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । यसको लागत ३ अर्ब ६० करोड रुपैयाँको अनुमान भए पनि निर्माण अवधि लम्बिएसँगै लागतमा पनि केही वृद्धि हुन सक्ने आयोजना प्रमुख पवनकुमार यादवले बताए । आयोजनाको काम मनाङ ट्रेड लिंक र साउथ एसियन इन्फ्रास्ट्रक्चरले लिएका हुन् । मनाङले ड्यामलगायत (आउटल्यान्ड) को काम गरेको छ ।

टनेलसहित आन्तरिक इन्जिनियरिङका पूर्वाधारको काम साउथ एसियन इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । देउपुर गाविसको तिलाहारमा बाँध सुरु भई ४२ सय मिटर लामो सुरुङमार्फत तिलाहार, दुर्लुङ र देउपुरहुँदै चुवाको परादीमा पावरहाउस रहने छ ।