NepalEnergyForum

जलविद्युत् कम्पनी सेयरमा लगानी गर्दा के-केमा ध्यान दिने ?

चालु आर्थिक वर्षको तेस्रो अन्त्यसँगै जलविद्युत् कम्पनीहरुले पनि धमाधम वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । भविष्यमा यो क्षेत्र स्टक एक्सचेजमा धेरै हिस्सा ओगट्ने क्षेत्रमा पर्ने देखिएको छ ।
हालसम्म १२ वटा जलविद्युत संस्था नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइसकेका छन् । भने थप २२ कम्पनीले सेयर जारी गर्ने लगभग पक्का भइसकेको छ ।

कम्पनी सञ्चालनमा आइसकेको छ ?

जलविद्युत् कम्पनीहरुमा कतिपय सञ्चालनमा आइसकेकाहरुले पनि पछि सेयर जारी गर्ने गरेको देखिएको छ भने केही सञ्चालनमा आउने तयारीको क्रममा नै सेयर जारी गर्छन् ।

सञ्चालनमा आइसकेका कम्पनीहरुमा केहीको सेयर जारी गर्ने उदेश्य भनेको  नयाँ आयोजना सञ्चालन गर्ने वा केहीको सञ्चालनमा रहेको आयोजनाको क्रममा लिइएको ऋण भुक्तान गर्ने  हुन्छ। थप आयोजना सञ्चालन गर्ने कम्पनीले भविष्यमा थप अवधिसम्मको लागि प्रतिफल दिन सक्ने अवस्था बन्छ ।

अर्कोतर्फ पहिलो आयोजनाको सञ्चालन अवधि समाप्त पछि सरकारलाई हस्तान्तरण गर्न परेमा पनि दोस्रो आयोजना भने केही थप अवधिसम्म कम्पनीको साथ मै रहने हुन्छ । तुलनात्मक रुपमा दुईवटा आयोजनाबाट हुने प्रतिफल एउटा आयोजना मात्र सीमित हुँदा घट्ने भएपनि प्रतिफलमा निरन्तरता पाउन सक्ने अवस्था हुन्छ ।

यो पनि हेरौं : जलविद्युत् कम्पनी होइन आयोजना मात्र सरकारले लिने

पहिलो आयोजना नै सञ्चालन गर्न बाँकी संस्थाको मूल्यांकन गर्दा भने त्यो आयोजनासम्म ट्रन्समिशन लाइन बने /नबनेको के छ ध्यान दिनुपर्छ । यसअघि कतिपय आयोजनामा ट्रान्समिशन लाइन नपुगेको कारण विद्युत् उत्पादन हुन नसकेको अवस्था पनि थियो । जति चाँडो ट्रान्समिसन लाइन पुगेको हुन्छ त्यति चाँडो कम्पनीले विद्युत् बिक्री गरेर आम्दानी गर्न सक्ने अवस्था बन्छ ।

सञ्चालनमा आइनसकेका संस्थाहरुको निर्माण प्रगति के कस्तो अवस्थामा छ । यसअघि पनि कुनै आयोजना बनाइसकेको कम्पनी हो भने प्रतिमेगावाट निर्माण लागत कतिमा बनाएको थियो ?  नयाँ बन्ने आयोजनाको लागत कति पुग्न सक्ने देखिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । यस्तो जानकारी इक्रा नेपालले रेटिङ गर्दाको समयमा पनि उल्लेख गरेको हुन्छ । कम्पनी खर्च गर्ने मामिलामा कति मितब्ययी छ भन्ने यसले देखाउँछ ।

सञ्चालकहरु को-को छन् ?

यसअघि जलविद्युत् कम्पनीहरु निर्माण गरिसकेका सञ्चालकहरु आफूले लगानी गर्न लागेका कम्पनीका सञ्चालक हुन कि होइन हेर्नुपर्छ । पहिले कस्ता आयोजना निर्माण गरेका थिए, कति लागतमा निर्माण गरेका थिए, सञ्चालित आयोजानको विद्युत् बिक्रीको अवस्था कस्तो छ पनि ध्यान दिनुपर्छ । नेपालमा कतिपय संस्थाका सञ्चालक खराब पर्न जाँदा आयोजना पनि धराशायी भएका उदाहरण यसअघि पनि देखिएको छ ।

संस्थाको स्थानीय बासिन्दासँगको सम्बन्धले पनि जलविद्युत् क्षेत्रमा असर गर्न सक्छ । स्थानीयहरुसँग राम्रो सम्बन्ध नभएको संस्थामा बिभिन्न खाले अवरोध आउन सक्ने भएकोले यस्तो कुरामा पनि विचार पुर्याउनुपर्छ ।

दोस्रो बजारमा सूचीकृत कम्पनी

दोस्रो बजारमा सूचीकृत कम्पनीको विश्लेषण गर्दा विविध पक्षमा ध्यान दिनु पर्दछ । पहिलो त कम्पनीले स्थानीयमा सेयर जारी गरेको तीन वर्ष पुगिसक्यो वा पुग्दैछ ? यदि तीन वर्ष पुग्नै लागेको अवस्थामा हो भने सेयरको आपूर्ती बजारमा बढ्न सक्छ । यसले बजारमा सेयर मूल्य घट्न जान सक्छ ।

भविष्यमा राम्रो प्रतिफल दिन सक्ने अवस्था कम्पनीको छ भने घटेको मूल्य खरिद गर्ने अवसर हुन सक्छ । तत्काल लाभ लिने सोचले मात्र लगानी गर्न लागेको हो भने केही समय कुर्न पर्ने हुनसक्छ ।

वित्तीय विवरणमा के-के हेर्ने ?

विद्युत् बिक्री आम्दानी र अन्य आम्दानीको दर बढ्दो अवस्थामा रहे/नरहेको हेर्नुपर्छ । आम्दानीका आधार घट्नुले कम्पनीको नाफामा पनि असर पर्छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशकै  वित्तीय विवरण हेर्ने हो भने रिडी हाइड्रोपावरको विद्युत् बिक्री आम्दानी घटेकोले नाफा घटेको छ ।

आयोजना सञ्चालन लागत, प्राधिकरणलाई तिर्नुपर्ने रोयाल्टि र प्रशासनिक खर्च बढिरहेको त छैन् ? ऋण भुक्तान गर्न बाँकी रहेका आयोजनाहरुको ऋण भुक्तानीको अवस्था कस्तो छ ? वित्तीय विवरणमा उल्लेख हुन्छ । ब्याज लागत बढिरहेको छ कि छैन् त्यसमा पनि ध्यान दिनुपर्छ ।

कम्पनीले अन्य लगानी गरेको छ ? कतिपय कम्पनीले भने आफूसँग रहेको पुँजी बैंकमा मुद्दतीमा पनि राखेका हुन्छन् । यस्ता कम्पनीले भने व्याज आम्दानी प्राप्त गर्छन् । व्याज आम्दानीले पनि नाफा बढ्न सक्छ । तर त्यो भन्दा कुनै अन्य क्षेत्रमा लगानी गरेको भए बढी प्रतिफल प्राप्त गर्न सक्ने अवस्था समेत हुन सक्छ ।

कतिपयले संस्थापक सेयरमा वा बजारबाट सेयर खरिद गरेका हुन्छन् । तिनको कमाई कत्तिको बढिरहेको छ हेर्नुपर्छ । कतिपयले नयाँ योजनामा पनि लगानी गरिरहेका हुन्छन् । यसो भएमा कम्पनीको आम्दानीको आधार बढ्नेछ भनेर बुझ्नु पर्छ । त्यस्तै, कतिपयले भने भएकै आयोजनाको मर्मत गरेका हुन्छन् । आम्दानी बढाउन पनि यस्तो मर्मत कार्यले सघाउ पुर्याउन सक्छ । वर्क इन प्रोग्रेशमा देखाइने यस्तो मर्मत खर्च बढिरहेको छ भने आयोजना स्थलको कुनै क्षेत्रमा समस्या पो छ की भन्ने पनि हुन्छ । यो शीर्षकमा भएको खर्च कस्तो हो बुझ्नुपर्छ ।

ह्रास खर्च (डिप्रिसेसन कष्ट) छुट्याएको छ कि छैन् । मेसिन प्रयोग हुने यो क्षेत्रमा अन्यको तुलनामा ह्रास खर्चको बढी महत्व हुन्छ । यसरी छुट्याइएको खर्चबाट कुनै समय भैपरी आउँदा मेसिनमा हुने गडबडी वा मेसिन फेरबदलको लागि धेरै समस्या पर्दैन ।

कतिपयले जलविद्युत् कम्पनीले बैदेशीक अनुदान समेत पाएका हुन्छन् । त्यो राम्रो पक्ष हो ।

अन्य आयोजनामा लगानी गरिरहेका संस्थाले आफ्नो त्रैमाशिक वित्तीय विवरणमा पनि त्यो योजनामा भइरहेको प्रगतीको जानकारी दिइरहेका हुन्छन् । यो जानकारीले सेयर मूल्यलाई प्रभाव पार्ने भएकोले त्यसमा पनि ध्यान दिनुपर्छ । कम्पनीको चालु दायित्वको तुलनामा चालु सम्पत्ती धेरै भएको, सञ्चिती बढी भएको कम्पनी लगानीको लागि उपयुक्त हुन सक्छ ।

अन्य कम्पनीहरु सरह यी कम्पनीको पनि प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात,पीबी रेसियो, प्रतिसेयर नेटवर्थ हेरेर तुलना गर्न सकिन्छ ।

Source : Online Khabar