NepalEnergyForum

चिलिमे–त्रिशूली प्रसारणलाइन जग्गा विवाद समाधान

नुवाकोटः रसुवाको गोल्जुङ गाविस–२ मा निर्माणाधीन चिलिमे–त्रिशूली २ सय २० केभी प्रसारणलाइनको निर्माण सुरु गर्न सहज भएको छ । सवस्टेसन निर्माणका लागि आवश्यक जग्गा दिन जग्गाधनीले सहमति जनाएपछि प्रसारणलाइन निर्माणको बाटो खुलेको हो ।

जग्गाधनीले प्रसारणलाइनको निर्माण स्थलमा अधिग्रहण गर्ने जग्गा सडकको पहुँच भएको स्थानमा प्रतिआना १ लाख २५ हजार र सडकले नछोएको स्थानको जग्गा १ लाख २० हजार रुपैयाँमा दिन सहमति जनाएसँगै सवस्टेसन निर्माण अघि बढाउन सहज भएको चिलिमे प्रसारण हब स्टेसनका आयोजना प्रमुख केदार सिलवालले जानकारी दिए ।

“प्रशारण लाइन निर्माणका लागि जग्गाधनीसँग सहमति भएकाले अब काम सुरु गर्न जग्गा अधिग्रहण गरी प्रक्रिया अघि बढाउन लागिएको छ,” आयोजना प्रमुख सिलवालले भने, “जग्गाधनीले पाउनुपर्ने मुआब्जाको रकम अर्को साता जिल्ला प्रशासन कार्यालय रसुवाको खातामा जम्मा गर्न जग्गाधनीसँग सहमति भएको छ ।”

यसअघि स्थानीय जग्गाधनीले चलनचल्तीको मूल्यभन्दा निकै महँगो दाबी गरेपछि प्रसारण लाइनको निर्माण अन्योल हुँदै आएको थियो । चिलिमे–त्रिशूली प्रसारणलाइन हब परियोजनाले जग्गाधनीलाई चलनचल्तीको मूल्य अनुसार प्रतिआना ८० हजारदेखि एक लाख रुपैयाँ दिन प्रस्ताव गरे पनि कम्तिमा २ लाख रुपैयाँदेखि साढे दुई लाख रुपैयाँ पाउनुपर्ने जग्गाधनीको अडानले प्रसारण लाइनको केन्द्र निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया दुई वर्षदेखि रोकिँदै आएको थियो ।

जग्गाधनीसँग भएको नयाँ सहमतिअनुसार मुआब्जा रकम उपलब्ध गराएसँगै १५ दिनभित्रमा जग्गा अधिग्रहण गरिसक्ने सहमति आयोजना र जग्गाधनीबीच भएको छ । आयोजनाका लागि ८० रोपनी जग्गा आवश्यक पर्नेमा स्थानीयबासीको करिब ५० रोपनी जग्गा अतिक्रमण गर्नुपर्ने देखिएको छ ।

रसुवाको गोल्जुङमा सव–स्टेसन निर्माण गरी नुवाकोटको मनकामनास्थित शान्तिबजारमा रहेको थ्रीबीको हबमा जोड्न स्थलगत सर्वेक्षण गर्ने काम पुनः सुरु भएको छ । यसअघि सर्वेक्षण गरिएको स्थान भूकम्पले क्षति पु¥याएकाले जग्गाधनीसँग मुआब्जा सहमतिसँगै पुनः सर्वेक्षण सुरु गरिएको सिलवालले बताए ।

अबको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रशारण लाइन गोल्जुङ, गत्लाङ, ठूलो गाउँहुँदै नुवाकोटको मनकामनास्थित त्रिशूली थ्रीबी हवमा ल्याएर जोड्न सर्वेक्षण भएको आयोजनाका प्रमुख सिलवालले बताए । गोल्जुङदेखि नुवाकोटको मनकामनासम्मको दूरी करिब २७ किलोमिटर रहेकाले ७५ स्थानमा खम्बा निर्माण गरी रसुवामा चिलिमे कम्पनीमार्फत उत्पादन भएको बिजुली नुवाकोट हुँदै केन्द्रीय प्रसारणलाइनमा पु¥याउने योजना छ ।

रसुवामा चिलिमे जलविद्युत् कम्पनीमार्फत १११ मेगावाट क्षमताको रसुवागढी, ४२ दशमवल ५ मेगावाटको साञ्जेन, १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

 स्रोत: करोबार