NepalEnergyForum

चमेलियाको सुरुङ खुल्यो

सन् २००७ मा सुरु भएको आयोजना १० वर्षपछि सन् २०१७ मा सम्पन्न हुने विश्वास

काठमाडौं । चमेलिया जलविद्युत् आयोजनाको खुम्चिएको सुरुङ खुलाइएको छ । ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनिज  (सिजिजिसी)ले शनिबार बिहान सुरुङ खुलाएको हो । आयोजनाको कुल ४.०६ किलोमिटर लामो सुरुङमध्ये भौगोलिक कारणले खुम्चिएको ८ सय ४३ मिटर खुलाइएको छ ।

‘ठेकेदार कम्पनीले लक्ष्यभन्दा चार दिनअघि सुरुङ खुलाएको छ,’ आयोजना प्रमुख अजय दाहालले भने, ‘२५ फागुनसम्ममा खुम्चिएको सुरुङ खुलाउने काम सक्ने लक्ष्य राखिएकोमा शनिबार बिहान काम सकिएको छ ।’ सिजिजिसीले १२ असोजबाट आयोजनाको सुरुङ खुलाउने काम थालेको थियो ।

ऊर्जामन्त्री जनार्दन शर्माले ७ असोज ०७३ मा ठेकेदार कम्पनीलाई बोलाएर परेको समस्या समाधानका लागि आफू तयार रहेको भन्दै तत्काल सुरुङ खुलाउन निर्देशन दिएका थिए । ठेकेदार कम्पनीले त्यसलगत्तै काम सुरु गरेको थियो भने २५ फागुनमा सक्ने लक्ष्य मन्त्रीसमक्ष प्रस्तुत गरेको थियो ।

काम सक्न थप सहज
आयोजनाको सिभिल इन्जिनियरिङतर्फको काम आउँदो असोजभित्रमा सकिने दाहालले बताए । ‘अब आयोजनाको सुरुङभित्र ५२ मिटर लामो रक ट्राप (स–साना ढुंगा संकलन गर्ने ठाउँ) निर्माणको काम बाँकी छ, ६५ मिटर लामो रक ट्रापमध्ये १३ मिटर निर्माण भइसकेको छ,’ उनले भने, ‘आयोजनाको ५२ मिटर लामो बाँध र तीनवटा अडिट गेट बनाउन बाँकी छ, सिभिलतर्फका सबै काम असोजसम्ममा सक्ने लक्ष्य राखेका छौँ ।’

पुस ०७४ मा आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि सिभिलतर्फको काम सकेपछि इलेक्ट्रोमेकानिकल काम गर्न तीन महिना लाग्नेछ । पुससम्ममा इलेक्ट्रोमेकानिकलतर्फको पनि काम सकिने र विद्युत् उत्पादन सुरु हुने दाहालले जानकारी दिए । सुरुमा ०६८ वैशाखमा काम सक्ने लक्ष्य राखिएको आयोजनाको काम लक्ष्यभन्दा साढे ६ वर्ष ढिला सकिन लागेको हो । सुरुमा साढे ८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत करिब १६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

लागत पुनर्मूल्यांकन
प्राधिकरणले साँघुरिएको सुरुङ खुलाउन यसअघि भएको १ अर्ब ९ करोड ३८ लाख रुपैयाँ (भ्याटसहित) लागतको पुनर्मूल्यांकन गर्न समिति गठन गरेको थियो । ज्ञानेन्द्रलाल श्रेष्ठ, तारानाथ सापकोटा, टुकप्रसाद पौडेल र रामहरि शर्मा रहेको समितिले आफ्नो प्रतिवेदन प्राधिकरणमा बुझाएको छ । यो समतिले ४ करोड रुपैयाँ कम लागत सिफारिस गरेको छ । लागत स्वीकृतिमा चलनचल्तीभन्दा बढी दर दिएर अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितिले भुक्तानी रोक्न निर्देशन दिएको थियो ।

लेखा समितिको निर्देशनपछि प्राधिकरणले भुक्तानी रोकेको थियो । भुक्तानी नपाएको भन्दै ठेकेदार सिजिजिसीले खुम्चिएको सुरुङ खुलाउने काम दुई वर्षदेखि रोकेको थियो । लेखा समितिले पछि पुनर्मूल्यांकन गराएर भुक्तानी दिन निर्देशन दिएको थियो ।

आयोजनाले परामर्शदातालाई पुनर्मूल्यांकन गर्न दिएको थियो । तर, उसले पुरानै लागतलाई नै सिफारिस गरेपछि स्वतन्त्र विज्ञ समूहमार्फत पुनर्मूल्यांकन गराइएको हो । प्राधिकरणले भेरिएसन, विवादित बिलको टुंगो नलागेसम्म ठेकेदारलाई अन्तरिम भुक्तानी (प्रोभिजनल पेमन्ट) दिनेछ ।

सुरुङ खुलाउँदा हुने भेरिएसन रकमको अन्तिम टुंगो नलागेसम्म काम गर्न नसकिने अडान राख्दै आएको ठेकेदार सिजिजिसी एक्कासि पुरानै रेटमा काम सुरु गर्न सहमत भएको थियो ।

बाँध, विद्युत्गृह, सुरुङलगायत सिभिल संरचना निर्माण गर्न सिजिजिसीसित सुरुमा २ अर्ब ८८ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्णय प्रक्रियामा प्राधिकरणबाट भएको ढिलाइ, सम्झौताको फितलो कार्यान्वयन, कमजोर भूबनोटलगायतले आयोजनाको सिभिलतर्फको लागत ५ अर्ब ४२ करोड ७४ लाख पुगेको छ । प्राधिकरणले हालसम्म ६ पटक गरी सम्झौताको १ सय ६० प्रतिशत अर्थात् २ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ भेरिएसन स्वीकृत गरिसकेको छ ।

१० वर्षपछि सकिँदै
शनिबार बिहान ऊर्जासचिव अनुपकुमार उपाध्यायले फेसबुकमा स्टाटस पोस्ट गरे, ‘चमेलियाको सुरुङको काम सम्पन्न भएको छ, संलग्न सम्पूर्ण टिमलाई बधाई छ ।’ योसँगै आयोजनामा नयाँ आशाको सञ्चार प्रवाह भएको हो । निर्माण सुरु भएको १० वर्षपछि आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिमको दार्चुलाको शिखर बलाँचमा सन् २००७ बाट निर्माण थालिएको आयोजनाको १० वर्षपछि ९८ प्रतिशत काम सकिएको हो । ३० मेगावाटको आयोजनाको खुम्चिएको सुरुङ खुलाइएसँगै निर्माणको अन्तिम चरणमा पुगेको हो ।

खुम्चिएको सुरुङ खुलेसँगै आयोजनाको ९८ प्रतिशत काम सकिएको आयोजना प्रमुख अजय दाहालले बताए । ‘साँघुरिएको सुरुङ खुलाउने काम सकिएपछि ९८ प्रतिशत काम सकियो भन्न सकिन्छ,’ उनले भने, ‘योसँगै अब आयोजना निर्धारित समयमा सक्नका लागि थप सहज देखिएको छ ।’

-नयाँ पत्रिका