NepalEnergyForum

ग्रामीण विद्युतीकरण आयोजना शुरू हुँदै

२ वर्षभित्रै गाउँमा उज्यालो : मन्त्री थानी

जेठ २१, सुर्खेत । राष्ट्रिय प्रसारण लाइन नपुगेको सुर्खेत निर्वाचन क्षेत्र नं. २ का सबै गाउँमा विद्युत् पुर्‍याइने भएको छ । ग्रामीण विद्युतीकरण आयोजनामार्फत अबको २ वर्षभित्र ती क्षेत्रमा बिजुली बत्ती पुर्‍याउन लागिएको हो । नेपाल विद्युत् प्राधिकरणले सुर्खेतमा आयोजना सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया शुरू गरिसकेको बताएको छ ।

बहुवर्षीय ग्रामीण विद्युतीकरण आयोजनाले जिल्लाका काफकोट, मटेला, रानीवास, रजेना, नेटा, लेखफर्सा, दशरथपुर, कल्याण, साटाखानी, पाम्का, अवलचिङ, गर्पन र रतु गाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । ११ केभीए विद्युत् प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरिसकेको बताएको छ ।

पहिलो चरणमा ८ करोड रुपैयाँ लागत इस्टिमेट गरिएको आयोजना स्वीकृत भई टेण्डर प्रक्रियामा रहेको नेपाल विद्युत् प्राधिकरण शाखा सुर्खेतका प्रमुख दीपकजङ्ग चौधरीले बताए । वर्षौंदेखि टुक्की बत्तीको भरमा निर्वाह गरेका निर्वाचन क्षेत्र नं. २ का बासिन्दाको घर–घरमा विद्युत् पुर्‍याइने उनको भनाइ छ । ‘यस वर्षदेखि शुरू हुने आयोजनाका लागि सबै आवश्यक प्रक्रियाको थालनी भएको छ, उनले भने, ‘अब छिट्टै पोल गाड्ने काम गरिनेछ ।’ विद्युत्् विस्तार भएपछि यस क्षेत्रका २ लाखभन्दा बढी उपभोक्ता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

गाउँमा विद्युत् सेवा लिन नपाउँदा मोबाइल चार्ज गर्ने, टेलिभिजन हेर्ने, बत्ती बाल्नेजस्ता प्रयोजनका लागि अन्यत्र धाउनुपर्ने बाध्यता छ । ग्रामीण विद्युतीकरणमा टेवा पुर्‍याउन थप अर्को नयाँ आयोजनाका लागि पहल भइरहेको सहकारी तथा गरीबी निवारणमन्त्री हृदयराम थानीले बताए । विभिन्न सङ्घसंस्थामार्फत सोलार बत्ती पुगे पनि यी क्षेत्रका बासिन्दा विद्युत् तथा सडक सुविधाबाट वञ्चित भएको उनको भनाइ छ ।

जनप्रतिनिधिको पहलअनुसार ग्रामीण विद्युतीकरण आयोजना शुरू गरिएको मन्त्री थानीले बताए । ग्रामीण विद्युतीकरण आयोजनाले गाउँको मुहार फेरिने विश्वाससमेत उनले व्यक्त गरे । उनका अनुसार उक्त आयोजनालाई निर्वाचन क्षेत्र नं. २ बाट विस्तार गरी जिल्लाका सबै ग्रामीण क्षेत्रमा पुर्‍याइनेछ ।

स्रोत:अभियान