कालीगण्डकी परियोजनाको डीपीआर

    1201
    पर्वत, बागलुङ र गुल्मीका ६ स्थानीय तह लाभान्वित हुनेगरी परियोजना सञ्चालन हुँदै

    पर्वत — पर्वत, बागलुङ र गुल्मीका ६ स्थानीय तह प्रत्यक्ष लाभान्वित हुनेगरी सञ्चालन हुने कालीगण्डकी जलाशययुक्त बहुउद्देश्यीय परियोजना अघि बढ्ने भएको छ । परियोजना अघि बढाउन केन्द्र सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चासो देखाएको हो ।

    पर्वतको फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माका अनुसार मन्त्रालयको एक विशेषज्ञ टोलीले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को काम सुरु गरिसकेको छ ।

    अघिल्लो वर्ष पर्वतको कुश्मा र फलेवास नगरपालिका तथा बिहादी गाउँपालिका, बागलुङको बागलुङ र जैमिनी नगरपालिका तथा गुल्मीको कालीगण्डकी गाउँपालिकाले कालीगण्डकीमा जलाशययुक्त परियोजना निर्माण गर्ने विषयमा सहमति भएको थियो । ‘तीनै जिल्लाका स्थानीय तहले एक खालको सहमति गरेर मन्त्रालयमा डीपीआरका लागि आग्रह गरेका थियौं,’ शर्माले भने, ‘अहिले समयमै काम सुरु भएको छ । अब आशा जागेको छ । परियोजना देशकै गौरवको हुनेछ ।’

    कालीगण्डकी जलाशययुक्त परियोजनामा १ हजार मेघावाट विद्युत्, सिंचाइ र जल यातायातसमेत सञ्चालन गर्न सकिने गरी कालीगण्डकी बहुद्देश्यीय परियोजनाको अवधारणा ल्याइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पर्वत, बागलुङ र गुल्मी जिल्लामा निर्माण हुने परियोजनाको विस्तृत सर्वेक्षणका लागि पहिलो चरणको काम सुरु गरेको हो ।

    केन्द्र सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेपछि अध्ययनको काम अघि बढेको हो ।

    जानकारहरूका अनुसार अध्ययनका लागि पहिलो चरणमा ५० लाख रुपैयाँ बजेट छ । सर्वेक्षणका लागि विद्युत् विकास विभागको एउटा टोलीले गत सातादेखि भौगोलिक अवस्था, विद्युत्गृह, बाँध निर्माण गर्न सकिने सम्भाव्य स्थलहरूको स्थलगत निरीक्षण र अवलोकन गरेको छ ।

    इन्जिनियर रवि नेपालसहितको टोली निर्माणस्थल र भौगर्भिक अवस्थाका बारेमा जानकारी लिएर प्रतिवेदन तयारीमा जुटेको छ । टोलीमा संलग्न फलेवासका नगरप्रमुख शर्माका अनुसार परियोजनाको ड्याम फलेवास ११ पाङराङको श्रीकाङ वा बिहादी–२ बर्राचौरको घुमाउने नजिकै रहनसक्ने टोलीको निष्कर्ष छ । ‘टोलीले अध्ययन गरेर फर्किएको छ,’ उनले भने, ‘सबै डिटेल प्रतिवेदन आइसकेपछि ड्याम कहाँ रहने भन्ने टुंगो लाग्छ ।’

    उनले यो परियोजना सफल भए गण्डकी प्रदेशको समृद्धिको ढोका खुल्ने दाबी गरे । बिहादी–१ को खबरा भीरदेखि बाँध निर्माण गर्न सकिने बिहादी–६ सेतीवेणीसम्मको अध्ययन गरेको टोलीका सदस्य तथा इन्जिनियर रवि नेपालले जानकारी दिए । ‘अहिले भौगोलिक र अन्य अवस्थाका बारेमा अध्ययन गरिरहेका छौं । केही समयमा परियोजनाको डिटेल जानकारी आउँछ,’ उनले भने । परियोजनाको विस्तृत अध्ययन गर्न केही समय लाग्ने उनले बताए ।

    गण्डकी र प्रदेश ५ को ठूलो जलविद्युत् परियोजनाको रूपमा बन्न सक्ने कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्दै निर्माण अघि बढाउन राष्ट्रिय र स्थानीयस्तरमा तीव्र लबिङ भइरहेको छ । परियोजना अघि बढेमा पर्वत, बागलुङ र गुल्मीको ठूलो क्षेत्रफलको भूभागमा पर्यटन, सिँचाइ र यातयातका क्षेत्रमा फड्को मार्न सकिने सरोकारवालाको दाबी छ । ‘यो परियोजना हाम्रो मात्रै होइन,’ कुश्माका नगरप्रमुख रामचन्द्र जोशीले भने, ‘देशले नै आर्थिक क्षेत्रमा फड्को मार्नेछ ।’

    विद्युत् प्राधिकरणले २४ वर्षअघि गरेको एक अध्ययनअनुसार कालीगण्डकीको पर्वत खण्डमा जलाशययुक्त परियोजना बनाउन सके हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । त्योबाहेक कालीगण्डकी तटीय क्षेत्रका हजारांै हेक्टर फाँटमा सिँचाइ सहज हुन्छ ।

    जलाशयमा कालीगण्डकीको झन्डै ६० किलोमिटर क्षेत्रमा जलयातायात सञ्चालन गर्न सकिने अध्ययनबाट देखिएको थियो । कालीगण्डकीमा पर्वतको बिहादी गाउँपालिका– १ बाच्छा र बिहादी तथा बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको खोंचमा बहाव थुनेर १ सय ४५ मिटर अग्लो बाँध बनाउन सकिने अध्ययन टोलीको भनाइ छ ।

    उक्त बाँधबाट ८ किमि सुरुङमार्गको बाटो हुँदै पानी बिहादी–६ गोलाङमा विद्युत् गृहमा पुग्ने बनाउन सकिन्छ । कालीगण्डकी १ सय २० देखि २ सय मिटरसम्म गहिरो खोंच बनाएर बगेका कारण त्यो बाँधबाट बन्ने जलाशय ६० किमि माथि मालढुंगासम्म आइपुग्ने अनुमान छ । यो परियोजना सफल भए तटीय क्षेत्रका करिब एक हजार घरधुरी विस्थापित हुन्छन् ।

    गत वर्ष फलेवाससहित ३ जिल्लाका ६ स्थानीय तहले यो परियोजना अघि बढाउन पहल गर्ने निर्णयसहित लगानीबोर्ड र ऊर्जा मन्त्रालयमा एकै व्यहोराको प्रस्ताव बुझाएका थिए ।
    – कान्तिपुर संवाददाता