NepalEnergyForum

काठमाडौं उपत्यका, बनेपा, धुलिखेल र पाँचखालमा अबदेखि लोडसेडिङ नहुने !

On 30th Oct, 2016

Estimated Demand : 1400 MW (approx)
Supplied : 963 MW
Imported : 268 MW
Supplied to Kathmandu Valley , Dhulikhel and Pachkhal : 310 MW

अध्ययन गर्न सोमबार उच्चस्तरिय समिति गठन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल र पाँचखालसम्मलाई विद्युत्भार कटौती (लोडसेडिङ) मुक्त बनाउने तयारी गरेको छ ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार उपत्यकालाई लोडसेडिङ मुक्त बनाउनका लागि आवश्यक गृहकार्य अघि बढाएको बताएका छन् । उपत्यकालाई लोडसेडिङमुक्त बनाउन उनले प्रसारणलाइन निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्माको संयोजकत्वमा उच्चस्तरिय विज्ञ समिति गठन गरेका छन् । समितिमा योजना निर्देशनालय र वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक, विद्युत व्यापार विभागका प्रमुख, प्रणाली सञ्चालन विभाग प्रमुख सहभागी छन् ।
समितिले एकसाताभित्र लोडसेडिङमुक्त बनाउनका लागि आवश्यक पर्ने विद्युत् आपूर्तिको सम्भावित विकल्पसहित प्रतिवेदन दिने विद्युत् व्यापार विभाग प्रमुख प्रवल अधिकारीले जानकारी दिए । समितिको प्रतिवेदन आएपछि काठमाडौं उपत्यका लगायत काभ्रेको वनेपा,  धुलिखेल र पाँचखाललाई लोडसेडिङ मुक्त बनाइने उनले बताए । “तिहारभरी काठमाडौं, भक्तपुर, ललितपुर।  बनेपा,  धुलिखेल र पाँचखाललाई लोडसेडिङ मुक्त गराउन सकियो,” उनले भने, “यहीअनुसार काम अघि बढने छ । जुनसुकै विकल्पबाट भए पनि उपत्यका र काभ्रेका ३ शहरलाई लोडसेडिङ मुक्त बनाइन्छ ।”
लक्ष्मीपूजाको दिन आइतबार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका अतिरिक्त बनेपा, धुलिखेलदेखि पाँचखालसम्म ३१० मेगावाट बिजुली आपूर्ति गरेर लोडसेडिङ मुक्त बनाएको उनले जानकारी दिए । “३ देखि साढे ३ सय मेगावाट बिजुली आपूर्ति भएमा काठमाडाैं उपत्यका लगायत काभ्रेका केही शहरलाई लोडसेडिङ मुक्त बनाउन सकिने देखिएको छ,” अधिकारीले भने, “यहीअनुसार काम अघि बढ्नेछ ।”
“कुलेखानी, हेटौंडामा रहेको डिजलप्लाण्ट, कालिगण्डकी लगायत निजी क्षेत्रका सबै आयोजना पूर्ण क्षमतामा सञ्चालन गरेका कारण सफल भएका हौं,” उनले थपे, “आयोजना सञ्चालनमा व्यवस्थापन गर्न नसक्दा समस्या आएको रहेछ, व्यवस्थापन सुधार्न लागिएको हो ।”
आइतबार ९६० मेगावाटसम्म बिजुली आपूर्ति भएको थियो । सोमबार २० मेगावाट माग कम भएको उनले बताए । सोमबार उपत्यकामा २९० मेगावाट बिजुली आपूर्ति भएको छ । आइतबार प्रणालीमा ४८० मेगावाट अपुग भएको थियो । आइतबार १ हजार ४४४ मेगावाट बिजुलीको माग भए पनि आपूर्ति ९६० मेगावाट मात्र भएको प्राधिकरणले जनाएको छ । तिहारमा पनि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायत उपकार्यकारी निर्देशक निर्देशकहरु विद्युत्को माग व्यवस्थापन गर्न विभिन्न ग्रीडमा परिचालन भएका छन् ।
स्रोत : १२ खरी