नागरिक सम्पादकीय
एनआरएन अर्थात् विदेशमा बस्ने नेपालीहरु। विदेशमा बसे पनि जहिल्यै स्वदेशकै बारेमा चिन्ता व्यक्त गर्छन्। फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जाल हुन् वा स्वदेशमा चाडपर्व मनाउन आइपुगेका बेला विभिन्न समारोहमा उपस्थित भएका बेला होस्, उनीहरु मुलुकबारे निकै चिन्तित देखिन्छन्। अनि मातृभूमिका लागि ठूलो लगानी गर्ने आश्वासन दिन्छन्। र, मुलुकको मुहार फेर्ने निकै आशावादी कुरा गरेर फर्कन्छन्। जबजब चाडपर्वको ओइरो लाग्छ, एनआरएनका आश्वासनको ओइरो पनि सँगै आउने गर्छन्। अहिले फेरि एनआरएनका अध्यक्षले नेपालमा विद्युत् उत्पादन गर्ने प्रयोजनका लागि विश्वभर रहेका नेपालीसँग पाँच अर्ब रुपियाँको कोष खडा गरेको बताएका छन्। पहिलो चरणमा एक सय मेगावाटको विद्युत् आयोजना निर्माण गर्ने तयारीस्वरुप रकम संकलन गरेको जानकारी पनि उनले दिएका छन्। यतिमात्र हैन, अन्य चार वटासम्म योजना सञ्चालनका लागि अध्ययन भइरहेको पनि उनले बताएका छन्। निश्चय पनि यो सकारात्मक कदम हो। यसका लागि एनआरएन र यसका मूली अध्यक्षलाई धन्यवाद दिनैपर्छ। किनकि जलस्रोतको धनी भएर पनि अँध्यारै जीवन बिताउन बाध्यहरुका लागि यो कम्ता खुसीको कुरा पक्कै हैन।
एनआरएनबाट ठ्याम्मै केही नभएकोचाहिँ हैन। तर ती गणनायोग्य छैनन्। केही नमुना काम भए पनि ती संगठनका तर्फबाट नभई व्यक्तिको दयामायामा आधारित छन्। त्यसैलाई गणना गरेर उपलब्धिको फेहरिस्त तयार पारी सोझासाझाका अगाडि वाचन गर्न त सकिएला तर त्यसले समग्र एनआरएनको भूमिका तथा योगदानको प्रतिनिधित्व गर्न सक्दैन। त्यसैले नेपालमै बसोबास गर्दै आएका नेपाली अब विदेशी हुन् वा विदेशमा बस्ने नेपाली, कसैबाट पनि आश्वासन चाहँदैनन्, उनीहरु आशामा विश्वास गर्न सक्ने अवस्थामा छैनन्, उनीहरु काममा विश्वास गर्छन्। कार्यान्वयन देखेपछिमात्र पत्याउँछन्। अहिलेसम्मको आशे जीन्दगीले उनीहरुलाई सिकाएको कुरा पनि यही हो। एनआरएन नेतृत्वले अहिलेलाई यति ख्याल गरे पुग्छ- पहिले केही काम गरेर देखाउँ, अनि स्वदेशबासीको मन जितौं। त्यसपछि उनीहरुसमेतको सहयोगमा मुलुकको मुहार फेर्न सकिने अन्य काम गरौंला। यसैमा सबैको भलो छ।
प्रस्तुति: नागरिक