NepalEnergyForum

ऊर्जामा महिला सहभागिता बढाउनु पर्ने

काठमाडौँ । ऊर्जा सुरक्षाको सुनिश्चिता, विद्युत्को परिप्रयोग बढाउन र महिला सशक्तीकरणका लागि ऊर्जासम्बन्धी नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको प्रभावकारी सहभागिता अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल ऊर्जा फाउण्डेशन तथा ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल (ओनी) द्वारा आज यहाँ आयोजित ‘महिलाका लागि नवीकरणीय ऊर्जा दक्षतासम्बन्धी क्षमता विकास प्रशिक्षण’ कार्यक्रमका सहभागी वक्ताहरुले संविधानमा राज्यका हरेक निकायमा महिलाको सहभागिताको सुनिश्चितता गरेपनि ऊर्जासम्बन्धी सरकारी निकाय र गठित आयोगहरुमै महिला सहभागिता नभएकाले यसतर्फ राज्यको ध्यान जान जरुरी भएको बताए ।

महिला र ऊर्जाबीच अन्योन्याश्रित सम्बन्ध रहने भएकाले महिलालाई स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि, ऊर्जा अधिकारको सुनिश्चितता र ऊर्जा दक्षता वृद्धि गर्न सकिएमा वातावरण संरक्षण र जनस्वास्थ्यमा सुधार ल्याउन र मुलुकलाई ऊर्जामा आत्मनिर्भरता गर्न सकिने उनीहरुको धारणा थियो ।

सो अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत पार्वता भट्ट, नेपाल ऊर्जा फाउण्डेशनका निर्देशक डिल्ली घिमिरे र ऊर्जा अधिकृत मेनुका देवकोटा, ओनीकी अध्यक्ष कला तिमिल्सिना, अभियानकर्ता भोला खतिवडा, पत्रकार कृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रशिक्षणमा काठमाडौँ, भक्तपुर, ललितपुर र चितवनका विभिन्न संस्थाहरुमा आवद्ध ३० जना अगुवा महिलाको सहभागिता रहेको थियो । हाल ओनीको २५ भन्दा बढी जिल्लाका विभिन्न नगारपालिका र गाउँपालिकामा सञ्जाल विस्तार गरिएको छ । रासस