NepalEnergyForum

अघि बढ्यो तनहुँ जलविद्युत्को निर्माण प्रक्रिया

१ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणका लागि निर्माण कम्पनी (ठेकेदार) छनोट प्रक्रिया अगाडि बढेको छ । आयोजनाले बुधबार मुख्य संरचना बाँध, सुरुङ, विद्युत् गृह निर्माण, उपकरण आपूर्ति तथा जडानका काम गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । ठेकेदार कम्पनीहरूले ९० दिनभित्र अर्थात् २० वैशाखभित्र प्रस्ताव पेस गरिसक्नुपर्ने आयोजनाले जनाएको छ । पूर्व योग्यतामा छनोट भएका अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँग प्राविधिक र वित्तीय प्रस्ताव माग गरिएको तनहुँ जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले जानकारी दिए । ‘बोलपत्र आह्वानसँगै आयोजना निर्माणको एउटा खुड्किलो अघि बढेको छ,’ उनले भने ।

दुई प्याकेजमा टेन्डर
आयोजना निर्माणलाई दुई प्याकेजमा विभाजन गरी टेन्डर आह्वान गरिएको छ । पहिलो प्याकेजमा नदी फर्काउने, बाँधलगायतका संरचना निर्माणका काम राखिएका छन् । यो काम गर्न पूर्वयोग्यतामा ५ कम्पनी छनोट भएका छन् । तिनै पाँच कम्पनीमध्येबाट उत्कृष्ट प्राविधिक र वित्तीय प्रस्ताव पेस गर्ने कम्पनी छनोट गरिने आयोजनाले जनाएको छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि एसियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)ले सहुलितपूर्ण ऋण दिएका छन् । दोस्रो प्याकेजमा सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका काम राखिएका छन् । यसको पूर्वयोग्यतामा तीन कम्पनी छनोट भएका छन् । आयोजनाले तिनै कम्पनीहरूसँग प्राविधिक तथा वित्तीय प्रस्ताव माग गरेको हो । दोस्रो प्याकेजका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सहुलितपूर्ण ऋण दिएको छ ।

असोजबाट निर्माण सुरु
ठेक्कापट्टाका सम्पूर्ण काम सकेर असोजबाट निर्माण सुरु गर्ने लक्ष्य राखिएको प्रबन्ध निर्देशक थिकेले बताए । ‘सुरु भएको पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ’, उनले भने, ‘आयोजनास्थलमा अहिले पहुँच सडक, आवास गृह, विद्युत् आपूर्तिका लागि सबस्टेसन निर्माणका काम भइरहेका छन् ।’ लक्ष्यअनुसार काम भएमा पुस ०७९ को दोस्रो साता (२०२२ को डिसेम्बर अन्तिम)मा आयोजनाको निर्माण सकिनेछ । आयोजनाको परामर्शदाता जर्मन कम्पनी लाहमेहर तथा क्यानेडियन मनिटोवा हाइड्रो इन्टरनेसनलको संयुक्त उपक्रम (जेभी)ले अहिले विस्तृत इन्जिनियरिङ अध्ययन, पुनरावलोकनलगायतका काम गरिरहेको छ । आयोजना र परामर्शदाताबीच १२ वर्षे परामर्श सेवाका लागि १ करोड ३४ लाख २१ हजार युरो र ८१ लाख ५६ हजार अमेरिकी डलरमा (भ्याटबाहेक) सम्झौता भएको थियो । निर्माण पूर्वका काम लागि एक वर्ष, निर्माण चरणमा ६ वर्ष र निर्माणपछि सञ्चालन चरणमा ५ वर्ष गरी जम्मा १२ वर्ष परामर्शदाताले काम गर्नेछ ।

हिउँदमा ६ घण्टा पूर्ण क्षमतामा
आयोजना बढी विद्युत् माग हुने हिउँदका ६ महिना पूर्ण क्षमता (१४० मेगावाट)मा चल्ने तनहुँ जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक थिकेले बताए । ‘पिक समयमा पूर्ण क्षमतामा चल्ने भएकाले भारतबाट विद्युत् आयात घटाउन आयोजना महत्वपूर्ण छ,’ उनले भने, ‘त्यसैले तोकिएको समयमा निर्माण सम्पन्न गर्न लागिरहेका छौँ ।’

आयोजनाबाट वार्षिक रूपमा ५९ करोड युनिट विद्युत् उत्पादन गर्नेछ । त्यसमध्ये हिउ“दमा १५ करोड ५० लाख युनिट उत्पादन हुने थिकेले जानकारी दिए । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानीमा कम्पनी खोलिएको छ । कम्पनी मोडलमा निर्माण गर्न लागिएकाले प्राधिकरण र आयोजनाबीच विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) हुनुपर्नेछ । ऊर्जा मन्त्रालयले पिकिङ रन अफ रिभर जलविद्युत् आयोजनाका लागि १६ मंसिरदेखि १५ जेठसम्मका लागि प्रतियुनिट १० रुपैयाँ ५५ पैसा पिपिए दर तय गरेको छ । तर, त्यस्तो आयोजना दैनिक विद्युत्को बढी माग हुने साँझमा ६ घण्टा पूर्ण क्षमतामा चल्नुपर्ने ऊर्जा मन्त्रालयले जनाएको छ । दरको टुंगो लागेपछि पिपिएको प्रक्रिया अघि बढ्ने आयोजनाले जनाएको छ ।

आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । आयोजनामा एडिबीको १५ करोड, जाइकाको १८ करोड ४० लाख, इआइबीको साढे ८ करोड गरी ४१ करोड ९० लाख डलर सहुलितपूर्ण ऋण रहनेछ । नपुग ८ करोड ६० लाख डलर रकम सरकार र प्राधिकरणले व्यहोर्नेछ ।

स्रोत:नयाँपत्रीका