माथिल्लो तामाकोसीले रोल्वालिङ डाइभर्सनअन्तर्गत थप बिजुली उत्पादन गर्ने – ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २२ मेगावाटको रोल्वालिङ खोलाबाट जलविद्युत् उत्पादन गर्न विस्तृत अध्ययनको कामलाई तीव्रता दिएको छ । कम्पनीले राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी निर्माणलाई तीव्रता दिएसगै रोल्वालिङको विस्तृत अध्ययन पनि अगाडि बढाएको हो ।
माथिल्लो तामाकोसीको परामर्शदाता जर्मनको ल्याह्मेयर इन्टरनेसनलले नै रोल्वालिङको प्रारम्भिक अध्ययन प्रतिवेदन तयार गरिरहेको छ ।
विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमतिको काम पाएसँगै कम्पनीले दुई वर्ष प्रारम्भिक अध्ययन, वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) तथा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को काम सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।
कम्पनीले रोल्वालिङ डाइभर्सनअन्तर्गत थप २२ मेगावाट बिजुली उत्पादन गर्ने भएको हो । आयोजना अध्ययनको चरणमा रहेकाले डिपिआरको चरणमा पुगेपछि मात्र लागतको टुंगो लाग्ने उनले बताए । आयोजना निर्माण भएपछि बाह्रै महिना एकैनासले २२ मेगावाट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।
कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएसँगै तामाकोसीका लागि छुट्टै २२ र २५ मेगावाटको विद्युत् आयोजना अध्ययन गर्ने काम अगाडि बढाउन निर्देशन दिएका थिए । तामाकोसीको जलाशय (हेडवक्स) रहेको स्थानभन्दा २ सय मिटरमाथि उचाइबाट रोल्वालिङ डाइभर्सनको सुरुङ आउने र त्यसलाई प्रयोग गरेर जलविद्युत् निकालिने घिसिङले बताए । ‘रोल्वालिङ खोलाबाट २२ मेगावाटको आयोजना निर्माण गर्ने काम अगाडि बढिसकेको छ,’ घिसिङले भने, ‘साथै माथिल्लो तामाकोसीमा पनि पानीको बहाव थप भएर ड्राई सिजनका लागि थप १७० गिगावाट आवर विद्युत् निकाल्न सकिनेछ ।’
रोल्वालिङको बाँध, सुरुङलगायतका संरचना खोला डाइभर्सन गर्दा नै बनाउनुपर्ने हुन्छ । त्यसमा बालुवा थिग्राउने बेसिन र विद्युत् गृह मात्रै थप बनाउनुपर्ने हुँदा वित्तीय रूपमा धेरै सस्तो रहने घिसिङले बताए । माथिल्लो तामाकोसीले वर्षात्को ३ महिना पूरै विद्युत् उत्पादन गरे पनि माघ र फागुनमा भने कम उत्पादन हुन्छ । त्यस्तो समयमा रोल्वालिङको पानी मिसाएपछि आयोजनाबाट सुक्खायाममा १ सय २० मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ । तामाकोसीको पहिलो युनिटबाट ०७५ असारसम्म बिजुली उत्पादन गर्ने तथा मंसिरमा सबै युनिट सञ्चालनमा ल्याउने तयारी प्राधिकरणको छ ।
कम्पनीले माथिल्लो तामाकोसीको काम सम्पन्न भएपश्चात् दोस्रो चरणमा रोल्वालिङको पानी डाइभर्सन गरी दोलखाको लामाबगरमा ल्याउने काम सुरु गर्ने जनाएको छ । तामाकोसीको बाँधमा पानी मिसाउन डाइभर्सनमा करिब ७ किलोमिटर सुरुङ बनाउनुपर्ने हुन्छ । लागत तय नभए पनि आयोजनामा ऋण लगानी गर्न कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका कम्पनी इच्छुक रहेको उनले बताए । ‘सस्तो र आकर्षक आयोजना रहेका कारण रोल्वालिङमा लगानी गर्न सबै तयार छन्,’ घिसिङले भने ।
रोल्वालिङ डाइभर्सनमा केबलकार बनाइने
माथिल्लो तामाकोसीको हेडवक्सदेखि रोल्वालिङ डाइभर्सनको बाँधस्थलसम्म पुग्न पहुँचमार्गको अभाव छ । विकट स्थानमा रहेकाले त्यहाँसम्म पुग्न भौगोलिक जटिलता छ । यसका लागि दोलखाको छ्योतछ्योेतदेखि गौरीशंकरको रिखु गाउँसम्म करिब २.४ किलोमिटर केबलकार बनाइने योजना छ । त्यसका लागि कम्पनी छनोटको काम अन्तिम चरणमा छ ।
रोल्वालिङ क्षेत्र पर्यटकका लागि अत्यन्तै मनोरम रहेका कारण स्थानीय भौगोलिक बनावटलाई क्षति नगर्न केबलकारबाटै निर्माण सामग्रीलगायत ढुवानी गरिने घिसिङले बताए । सडकमार्गभन्दा केबलकार बढी प्रभावकारी हुने भन्दै छ्योतछ्योतदेखि रिकुसम्म केबलकार निर्माण गर्न लागिएको हो । विद्युत् उत्पादनसँगै सो क्षेत्र पर्यटकीय रूपमा प्रचुर सम्भावना भएको क्षेत्र भएको छ ।