हिमाल पारीको जिल्लाको रुपमा परिचित मुस्ताङमा निर्माण भइरहेको थापाखोला जलविद्युत् आयोजनाले आगामी भदौबाट विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।
मुस्ताङको टुकुचेमा निर्माणाधीन १३.६ मेगावाटको आयोजनाले आगामी भदौबाट विद्युत उत्पादन सुरु गर्ने तयारी गरेको छ ।
आयोजनाको ९९ प्रतिशत निर्माण सकिएकाले अबको २ महिनामा विद्युत उत्पादन सुरु गर्न सम्भव भएको जनाइएको छ ।
हेडवर्क्स , सुरुङ र विद्युतगृहको निर्माण पूरा भई अहिले पेनस्टक पाइप ढलानको काम अन्तिम चरणमा पुगेको माउन्ट कैलाश इनर्जी प्रालिले जनाएको छ ।
पाइप जडान कार्य सम्पन्न भएपछि परीक्षण उत्पादन सुरु गरिने छ ।रु २ अर्ब ६० करोड लागतमा निर्माण सम्पन्न आयोजनाले वार्षिक ६९.३३ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । उत्पादित विद्युत जिल्लाकै कोवाङ सबस्टेसन र म्याग्दीको दाना सवस्टेसनमा लगेर जोडिनेछ ।
सुरुमा रु २ अर्ब ४५ करोडको लागत अनुमान गरिएकामा भौगोलिक विकटता, भूकम्प, बन्द हडताल, नाकाबन्दी र कालीगण्डकीमा खसेको पहिरोले बाटो अवरुद्ध हुँदा लागत बढेको हो ।