‘गाउँमा महसुल बुझ्दा सुरक्षा, बैंक र कम्प्युटर सिस्टमको अभाव’
चैत्र १८, २०७३- गाउँमा विद्युत् महसुल तिर्ने व्यवस्था नभएपछि ग्रामीण सर्वसाधारणहरू शुल्कभन्दा धेरै खर्च गरेर सदरमुकाम जान बाध्य छन् । बाँफीकोट गाउँपालिका–५, का धु्रवराज केसीले तीन महिनाको विद्युत् महसुलबापत १ सय ३० रुपैयाँ बुझाउन खलंगा जाउआउमा ८ सय २० रुपैयाँ खर्च भएको बताए ।
उनी २ सय ५० रुपैयाँ भाडा तिरेर गाडी चढेर सदरमुकाम पुगे । त्यहॉ २ सय रुपैयाँ तिरेर बिहानको खाना खाए । तीन महिनाको १ सय ३० रुपैयाँ महसुल बुझाएर ६० रुपैयाँको नास्ता खाएर घर फर्किंदा केसीले ७ सय ६० रुपैयाँ खर्चिनुपरेको गुनासो गरेका छन् । सोही गाउँपालिका–२, पीपलका यामबहादुर खत्रीको अवस्था पनि त्योभन्दा फरक छैन । खलंगाको खर्चसहित ८ सय २० रुपैयाँ खर्चेर विद्युत् महसुल तिर्नुपरेको उनले बताए ।
ध्रुवराज र यामबहादुर मात्र हैन, बाँफीकोट गाउँपालिकाका पीपल, बाँफीकोट, मग्मा, दुली र झुलाका एक हजार ६ सय ५१ ग्राहकले बिजुलीको महसुल तिर्दा यसरी दु:ख पाउने हुन् । प्राधिकरणको वितरण केन्द्रले गाउँमा संकलन गर्दै आएको काउन्टर बन्द गरेपछि ग्राहकहरू सदरमुकाम पुगेर महसुल तिर्न बाध्य भएका छन् ।
यसअघि घरछेउमै महसुल तिर्दै आएका पॉच गाउ‘का बासिन्दा तीन महिनादेखि सदरमुकाम खलंगास्थित सेरीगाउँमा रहेको नेपाल विद्युत् प्राधिकरण खलंगा वितरण तथा ग्राहक सेवामा पुग्न बाध्य छन् । टाढाका ग्राहक महसुल तिर्नकै लागि महँगो खर्चमा मात्रै परेका छैनन्, एक दिनभरिको समय पनि खेर जाने गरेको छ । यसअघि सजिलै महसुल तिर्दै आएको सर्वसाधारणलाई प्राधिकरणको पछिल्लो निर्णयले समस्यामा पारेको यामबहादुरले बताए । महसुलको बिल पुर्याउन प्राधिकरणका कर्मचारी घर–घरै पुग्ने भए पनि ग्राहकले भने दु:ख पाइरहेको उनले गुनासो गरे । ५ ठाउँमध्ये सबैभन्दा बढी ग्राहक बाँफीकोटमा ८ सय ४१, पीपलमा ४ सय ४०, झुलामा १ सय ९६, मग्मामा ९६ र दुलीमा ७८ जना विद्युत् ग्राहक छन् । भेरीपारिका १ हजार ६ सय ५१ सहित ४ हजार ग्राहक रहेको विद्युत् प्राधिकरणले एउटा मात्रै काउन्टरबाट महसुल संकलन गर्न थालेपछि लाइन नबसी महसुल तिर्ने पालो आउँदैन ।
प्राधिकरणको खलंगा वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले गाउँका नगद संकलन काउन्टरहरू व्यवस्थित हुन नसक्दा बन्द गरिएको बताए । संकलन भएको नगदको सुरक्षा, कम्प्युटरबाट बिल काट्ने प्रणाली गाउँमा विकास गर्न सम्भव नभएकाले सबै ग्राहकलाई सदरमुकाममै पुगेर महसुल तिर्न भनिएको उनले जनाए । ‘गाउँमा महसुल बुझ्दा सुरक्षा, बैंक र कम्प्युटर सिस्टमको अभाव भयो,’ प्याकुरेलले भने, ‘त्यसैले सबै काउन्टर बन्द गरेर जिल्लामै त्यसको व्यवस्थापन गरिएको हो ।’
उनका अनुसार अहिल्यै महसुल संकलन काउन्टर गाउँमै राख्ने सम्भावना छैन । सुरक्षा ग्यारेन्टी, बैंकको व्यवस्था र प्राधिकरणको कम्प्युटर सिस्टम नजोडिएसम्म ग्राहकहरूले सेरीगाउँमै पुगेर महसुल तिर्नुपर्ने प्याकुरेलले बताए । ग्राहकहरूले बिलभन्दा बढी रुपैयाँ तिर्नु परिरहेको गुनासो पनि गरेका छन् । १ महिनामा बिल काट्नुपर्नेमा एकै पटक तीन महिनामा बिल काटेकाले बिलमा आएभन्दा बढी रुपैयाँ तिर्नु परिरहेको ग्राहकहरूको भनाइ छ । पीपलकै लक्ष्मी जैसीले बिलमा आएकोभन्दा बढी रुपैयाँ तिरेको बताइन् । कार्यालय प्रमुख प्याकुरेलले बिल काटेकै दिन रुपैयाँ नतिरेको अवस्थामा ब्याज स्वरूप रुपैयाँ बढेको बताए ।
बिल काटेकै दिन रुपैयाँ तिरेको जानकारी इन्ट्री नगरे सिस्टमले नस्वीकार्ने भन्दै उनले बिल काटेकै दिनदेखि ब्याज बढदै जाने बताए । यसअघि रुकुमेली विद्युत् ऊर्जा विकास उपभोक्ता समितिले प्राधिकरणबाट भाडामा लिएर विद्युत् सेवा सञ्चालन गर्दा उसले हाते बिल काटेर गाउँमै महसुल उठाउँदै आएको थियो । गत कात्तिक महिनादेखि उक्त विद्युत् आयोजना प्राधिकरणमा हस्तान्तरण भएको हो ।
स्रोत:कान्तिपुर