विद्युत् व्यापारको परिकल्पना

    456

    नेपाल र भारतबीच सहज रूपमा विद्युत् व्यापार गर्ने अनि नेपालले बढी भएको बिजुली भारतलाई बेच्ने चर्चा गर्न थालेको दशकौं बित्यो । नेपालले प्रदान गर्न नसके पनि दैनिक ३ सय मेगावाटभन्दा बढी विद्युत् खरिद भने भारतबाट गरिरहेको छ ।

    समयमै जलविद्युत् आयोजना बनाउन नसक्दाको परिणाम अहिले नेपालले भारतबाट बिजुली किन्नुपरे पनि जलविद्युत् क्षमताको हिसाबले भने भविष्यमा बेच्न सक्ने सम्भावना पनि उत्तिकै छ । यसका लागि नेपालले पहल नगरेको भने होइन ।

    झन्डै २० वर्षको प्रयासपछि दुई वर्षअघि कात्तिक २०७१ मा नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौता (पीटीए) समेत भयो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा भएको सहमतिअनुसार नेपालले पनि हालै सार्कको पीटीए सम्झौतालाई संसद्बाट अनुमोदन गरेको छ ।

    व्यावहारिक, राजनीतिक र नीतिगत रूपमा नेपाल र भारतबीच बिजुली आदानप्रदानका लागि प्रशस्त आधार तय भएका छन् तर कार्यान्वयन तह फितलो छ । सम्झौताअनुसार भारतीय बजार नेपालका लागि खुला छैन भने त्यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम समेत सहज हुन सकेको छैन ।

    नेपाल र भारतबीच भएका पटक–पटकको बैठकमा नेपालले भारतीय बजारमा नेपालको बिजुली सहज रूपमा बेच्न पाउनुपर्ने प्रस्ताव गरेको र भारत सकारात्मक देखिए पनि व्यवहारमा कार्यान्वयन नभएको देखिएको छ । ३० भदौदेखि प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भारत भ्रमणका क्रममा भारतीय बजारमा नेपाली बिजुलीको सहज पहुँचका लागि प्रस्ताव गर्न लागेका छन् ।

    नेपालमा भारतलाई बिजुली बेच्नु हुन्छ, बेच्नु हुन्न, बेचेर नेपालले कमाउन सक्दैन, बेचेर नेपाल धनी बन्न सक्छ लगायतका थुप्रै तर्क–वितर्क गर्नेहरू धेरै छन् । यसबारे जेजति विवाद र छलफल भइरहे पनि नेपालको बिजुलीको मुख्य बजार भारत हो भन्नेमा दुईमत छैन ।

    अहिलेसम्मको भौगोलिक र प्राविधिक अवस्थाले बिजुली आदानप्रदान दुवैका लागि भारत एक मात्र विकल्प देखिएको छ । हाम्रो बिजुली बजार बंगलादेश, श्रीलंकालगायतका अन्य सार्क मुलुकहरू पनि हुन सक्छन् तर भारतको सहमतिबिना यो असम्भव छ । यसकारण नेपालीको बिजुलीलाई भारतीय बजारको खाँचो छ ।

    हालसम्म नेपालमा जलविद्युत्को उत्पादन क्षमता कति छ भनेर ठोस अध्ययन भएको छैन । पछिल्लो समयमा जल तथा ऊर्जा आयोगले गरेको प्रारम्भिक अध्ययनले १ लाख ६० हजार मेगावाट उत्पादन हुन सक्ने देखाएको छ भने अन्य विभिन्न अध्ययनले नेपालको पानीको अधिकतम उपयोग गर्दा २ लाख मेगावाटसम्म उत्पादन हुन सक्ने देखाएको छ ।

    हाल नेपालको उत्पादनको अवस्था एकदम कमजोर अर्थात् एक हजार मेगावाटसम्म पुगेको छैन । विस्तृत अध्ययन–प्रतिवेदन नआईकन नेपालले क्षमतामध्ये कति व्यावसायिक रूपमा उत्पादन हुन सक्छ भनेर यकिन भन्न त सकिँदैन, तर पछिल्लो अध्ययनहरूका आधारमा अझै १ लाखभन्दा बढी नेपालले उत्पादन गर्न सक्छ ।

    जलविद्युत् उत्पादनबारे गफ गर्न छाडेर काम गर्ने हो भने नेपालले बिजुलीको बजार खोज्नैपर्छ । त्यो बिजुलीको बजार भारत भएकाले दुवै देशले बराबर फाइदा लिने गरी जलविद्युत्को किनबेच हुनुपर्छ । पानीको बाँडफाँड पनि दुवै देशले बराबर फाइदा हुने गरी गर्नुको विकल्प छैन ।

    भारतले सकेसम्म नेपालको बिजुली र पानी सस्तोमा लान खोज्छ तर नेपालले अधिकतम फाइदा हुने गरी आफ्नो क्षमता देखाउनुपर्छ । अहिले नेपाल र भारतबीचको जलस्रोत उपयोगबारे धेरै चर्चा–परिचर्चा, विरोध–समर्थन भए पनि ठोस प्रस्ताव नेपालले भारतलाई दिन सकेको छैन ।

    नेपालको सम्पत्तिका रूपमा रहेको पानीबाट बिजुली र पानीको उपयोग गरेर बाँकीलाई भारतमा बेच्नका लागि त्यसका सम्पूर्ण नीतिदेखि पूर्वाधारहरूसम्म बनाउन जागरूक हुनुपर्छ ।

    पानी बगेर भारत गइरहने र बिजुली उत्पादन गर्न नसकेर भारतबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य हुनु जरुरी छ । यसका लागि नेपाली बिजुलीको बजार भारतमा खुला गर्नु जरुरी छ । यसका लागि दुवै देशले तत्काल उचित सहमतिको वातावरण निर्माणका लागि अग्रसर हुनुपर्छ ।

    नेपालमा ठूला–ठूला जलविद्युत् आयोजनाहरू निर्माण गर्नुपर्छ । जबसम्म नेपाली बिजुलीका लागि भारतीय बजार खुला हुँदैन, तबसम्म ठूला परियोजनाहरू निर्माणमा कठिनाइ हुन्छ । नेपालमा जतिसक्दो धेरै जलविद्युत् आयोजना निर्माण गर्ने र बढी भएको बिजुली बेचेर नेपाल समृद्ध हुनुको विकल्प छैन ।

    बिजुली होस् वा अन्य जुनसुकै वस्तु होस्, भारतमा निर्यात गरेर नेपाल धनी हुँदैन भन्ने सोच राख्नु गलत हो । नेपालका वस्तुहरू भारतमा बेच्न हुँदैन भन्ने र भारतबाट खर्बौंको वस्तु आयात गर्दा त्यसप्रति आँखा चिम्लेर राष्ट्रवादी बन्नु खोक्रो राष्ट्रबादबाहेक केही हुन सक्दैन ।

    स्रोत : कारोबार