सर्वोच्च अदालतको आदेश अवज्ञा गरेर मानहानी गरेको जिकिर गर्दे नेपाल विद्युत् प्राधिकरणका एक सञ्चालकलले ऊर्जामन्त्री जनार्दन शर्मा विरुद्ध रिट दायर गरेका छन् ।
विद्युत् प्राधिकरणका सञ्चालक सुरज लामिछानेले सर्वोच्च अदालतले आफूलाई पुनर्बहाली गर्न आदेश दिएको लामो समय बितिसक्दा पनि त्यसलाई वेवास्था गरेको भन्दै ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जासचिव अनुपकुमार उपाध्याय र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्चमा दायर गरेका छन् । तत्कालीन ऊर्जामन्त्री, सचिव र कार्यकारी निर्देशकले पुनर्बाहाली गर्न आलटाल गरे पनि वर्तमान ऊर्जामन्त्रीले समेत चासो नदेखाएर अदालतको आदेशको अवहेलना गरेको उनले रिटमा उल्लेख गरेका छन् ।
तत्कालीन ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले लामिछानेलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेकी थिइन् । ऊर्जामन्त्रीको समेत कार्यभार सम्हालेका तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतमले एक वर्षअघि सञ्चालकबाट हटाएपछि पुनःथापनाको माग गर्दे लामिछानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।
गत चैतमा सर्वोच्चले पुनर्बाहाली गर्न ऊर्जा मन्त्रालयलाई आदेश दिएपनि हालसम्म कार्यन्वयन नभएपछि आफूले ऊर्जामन्त्री शर्मा, सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङ विरुद्ध मानहानी मुद्दा दायर गरेको लामिछानेले बताए ।
सर्वोच्चको आदेशपछि पुनर्बहालिका लागि पटकपटक लिखित निवेदन र ताकेता गर्दा पनि ऊर्जा मन्त्रालयले चासो नदेखाएको उनको दाबी छ । सर्वोच्चबाट मुद्दा फैसलाको पूर्ण पाठसमेत उपलब्ध गराउँदा पनि पुनर्बहालीमा ध्यान नदिएको उनको गुनासो छ । “संविधान र कानुन अनुसार मन्त्री भएपछि कानुन पालना गर्नुपर्छ,” उनले भने,“मन्त्रीले समेत कानुन पालना र अदालको आदेशको अवहेलना गरेकाले फेरि रिट दायर गरेको हो ।”
@ बाह्रखरी