मर्स्याङ्दी करिडोरमा २२० केभीको प्रसारण लाइन

    1412

    कार्तिक १८, २०७४-मर्स्याङ्दी र आसपासका नदीबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न मर्स्याङ्दी करिडोरमा २ सय २० केभीको प्रसारण लाइनको निर्माण प्रक्रिया अघि बढेको छ । विद्युत् प्राधिकरण चितवनको आँपटारीस्थित नयाँ स्टेसनमा जोड्ने गरी मनाङको घेलान्चोकबाट लमजुङ–तनहुँ हुँदै ११२ किमिको प्रसारण लाइन निर्माण हुन लागेको हो ।

    आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनासहित प्रक्रिया अगाडि बढाइएको मस्र्याङदी करिडोर २ सय २० केभी प्रसारण लाइन आयोजना प्रमुख इन्जिनियर चिरन्तनविक्रम राणाले बताए । उनका अनुसार पहिलो चरणमा लमजुङको उदीपुरदेखि भरतपुर सबस्टेसनसम्म ६७ किमि लामो २ सय २० केभीको ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण गर्न आयोजनाले ‘ग्लोबल टेन्डर’ आह्वान गरिसकेको छ । यसमा चिनियाँ कम्पनी पिङगाओले ठेक्का पाएको छ । ठेक्का सम्झौताको चरणमा रहेको उनले बताए । उक्त प्रसारण लाइनमा १ सय ७९ टावर निर्माण गरिनेछ । यस्तै २ सय २० केभी क्षमताको सबस्टेसन उदीपुर र भरतपुरमा निर्माण गरिनेछ । ‘अब छिट्टै दुवै सबस्टेसन निर्माणका लागि पनि ग्लोबल टेन्डर गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘यस क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृत भइसकेको छ ।

    दोस्रो चरणमा मनाङ नासोङको घेलान्चोकदेखि लमजुङको उदीपुरसम्म ४५ किमि लामो २२० केभीको ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण गर्ने भएको छ । यस क्षेत्रमा ९३ टावर निर्माण गरिनेछ । यसका लागि घेलान्चोक र खुदीमा सबस्टेसन निर्माण गरिने उनले बताए । सबस्टेसनका लागि जग्गा प्राप्ति गर्ने कार्य सम्पन्न भइसकेको आयोजनाका प्रशासकीय अधिकृत कृष्णदेव रिमालले बताए । उनका अनुसार घेलान्चोकमा १ सय ६ रोपनी र खुदीमा र ८५ रोपनी जग्गा गत आर्थिक वर्षमै नेपाल विद्युत् प्राधिकरणको नाममा प्राप्त भइसकेको छ । उदीपुरमा रहेको प्राधिकरणको जग्गामा सबस्टेसन निर्माण गरिनेछ । आवास र अन्य प्रयोजनका लागि थप करिब १९ रोपनी जग्गा अधिग्रहण भइसकेको बताए । युरोपियन इन्भेस्टमेन्ट बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त प्रसारण लाइन निर्माण हुन लागेको हो । आयोजना निर्माणका लागि ९२.०५ मिलियन अमेरिकी डलर (करिब १० अर्ब रुपैयाँ) लाग्ने भएको छ ।

    स्रोत : कान्तिपुर