काठमाडौं –
मर्स्याङ्दी नदीमा झण्डै एक दर्जन जलविद्युत परियोजना निर्माणधीन अवस्थामा छन्। हिमाली जिल्ला मनाङका दुई नदी खांसार र जारसांङ खोलाको दोभानबाट सुरु भएको यो हिमनदीको तीब्र बहावको पानी विद्युत उत्पादनका लागि उपयुक्त भएकाले पानीमा आधारित एक दर्जन परियोजना विभिन्न चरणमा निर्माणाधीन छन्।
विद्युत विकास विभागले यो नदीमा विद्युत उत्पादनकै लागि भनेर अहिले पनि विभिन्न आठ परियोजनालाई सम्भाव्यता अध्ययन, उत्पादन अनुमति प्रदान गरिसकेको छ। मनाङ जिल्लाबाट दक्षिणतर्फ सीमा जोडिएको जिल्ला लमजुङ हुँदै बग्ने यो नदी बेसिनमै नेपालकै दुई ठूला परियोजना सञ्चालनमा आइसकेका छन्। मर्स्याङदी नदीको अनुमानित लम्बाई एक सय ५० किलोमिटर छ।
यही नदीमा ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी र ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत परियोजनाले लामो समयदेखि एक सय ३९ मेगावाट उत्पादन गरिरहेका छन्। यी परियोजनाहरु लमजुङ र तनहुँ जिल्लामा पर्ने नदी बेसिनमा विद्युतगृह निर्माण गरी सञ्चालन गरिएका छन्। पछिल्लो सयम यो नदीको बेसिन ‘मर्स्याङ्दी करिडोर’ को नामले प्रवर्द्धकमाझ परिचित छ।
विद्युत विकास विभागले मस्याङ्दी नदीमै निर्माण र सञ्चालन गर्ने गरी करिब ५ परियोजनालाई स्विकृति दिइसकेको छ। प्रस्तावित र निर्माणाधीनमा ५० मेगावाट क्षमताका मध्यमदेखि ६ सय मेगावाटसम्मका ठूला परियोजना छन्।
विभागले उपलब्ध गराएको पछिल्लो सूचनाअनुसार उसले माथिल्लो मर्स्याङ्दी–१ र २, माथिल्लो मर्स्याङ्दी ‘ए’, मर्स्याङ्दीबेसी, तल्लो मनाङ मर्स्याङ्दीलगायत परियोजनालाई स्वीकृति दिएको छ। यही नदीमा जलविद्युत परियोजना सञ्चालन गर्न निजी क्षेत्रका प्रवर्द्धकहरुले विभिन्न चरणका अध्ययन जारी राखेको लमजुङमा आधारित भएर जलविद्युतमा लगानी गरिरहेका प्रवर्द्धकले बताएका छन्।
विभागले स्वीकृति दिएका परियोजनामा निजी क्षेत्रका जलविद्युत प्रवर्द्धक कम्पनीहरु हिमताल हाइड्रो, भारतीय कम्पनी जिएमआर, चिनियाँ कम्पनी सिनो हाइड्रो, सगरमाथा पावर कम्पनी, दिव्यज्योति हाइड्रोपावर, बुटवल पावर कम्पनी लगायतले लगानी गरिरहेका छन्।
यही करिडोरमा पर्ने लमजुङ जिल्ला भएर बग्ने र मर्स्याङदी नदीमा गएर मिसिने सहायक खोलामा साना र मध्यमस्तरका जलविद्युत परियोजना निर्माणका विभिन्न चरणमा छन्। जिल्लामा हाल करिब १५ सय मेगावाटभन्दा धेरै क्षमताका आयोजना निर्माणधीन अवस्थामा छन्। जिल्लाका दोर्दी, न्यादी, सिउरी लगायतका खोलामा धमाधम आयोजना बन्दैछन्।
मर्स्याङदीजस्तै हिम नदीबाट उत्पन्न नदी र खोलामा निर्माण गरिने पानीको प्रवाहमा आधारिम (रन अफ दी रिभर) परियोजना पहिरो, हिमताल फुट्दा उत्पान्न हुने बाढी लगायतका प्राकृतिक विपत्तिका कारण उच्च जोखिममा पर्ने बताइए पनि नेपालमा भने यस्ता नदी बेसिनमै जलविद्युत परियोजना र विद्युत गृह निर्माण गर्ने गरिएको छ।
त्यसमाथि एउटै नदी बेसिनमा धेरै परियोजना सञ्चालन गरिँदा एउटै प्राकृतिक प्रकोपले सबै परियोजनामा क्षति पुर्यामउने हुँदा यसतर्फ सरकार र सरोकारजादा निकायको ध्यान जानुपर्ने जल उत्पन्न प्रकोप र यसको व्यवस्थापनमा काम गर्नेहरु बताउँछन्।
परियोजना प्रवर्द्धक क्षमता (मेवा)
माथिल्लो मर्स्याङदी २ हिमताल हाइड्रोपावर/जिएमआर ६००
माथिल्लो मर्स्याङ्दी १ हिमताल हाइड्रो पावर/जिएमआर १५०
माथिल्लो मर्स्याङ्दी ए सिनो हाइड्रो/सगरमाथा पावर कं. ५०
मर्स्याङ्दी बेसी दिव्यज्योति हाइड्रोपावर ५०
मध्य मर्स्याङदी नेपाल विद्युत प्राधिकरण ७० (निर्माण सम्पन्न )
मर्स्याङ्दी नेपाल विद्युत प्राधिकरण ६९ (निर्माण सम्पन्न )
तल्लो मनाङ मर्स्याङ्दी बुटवल पावर कम्पनी २१०
Source : NagarikNews