बिजुली थप्न लाइन छैन

    584

    देशभित्रै उत्पादित र भारतबाट थप्ने भनिएको बिजुली प्रसारण तथा वितरण गर्न लाइन अभाव 

    काठमाडौं, १७ असोज पर्याप्त विद्युत् उत्पादन नहुँदा देशमा बाह्रैमास लोडसेडिङ छ, तर उत्पादित विद्युत् पनि काठमाडौं र अन्य सहरमा पु-याउन प्रसारण र वितरण लाइन अभाव छ । नेपालभित्रै उत्पादन भएको र भारतबाट आयात गरिएको बिजुली प्रसारण गरी उपभोक्ताको घरसम्म पु-याउने लाइन सुदृढीकरण नगरे विद्युत् आपूर्तिमा थप समस्या हुने भएको छ ।

    भारतबाट बिजुली ल्याउन समस्या

    ढल्केबर–मुजफ्फपुर क्रसबोर्डर प्रसारण लाइनबाट अहिले ८० मेगावाट बिजुली प्रसार भइरहेको छ । तर, थप एक सय ५० मेगावाट बिजुली ल्याउने सहमति भए पनि सिंक्रोनाइजेसनका लागि भइरहेको काम ज्यादै सुस्त छ ।

    प्रसारण प्रणाली सिंक्रोनाइजेसन नगरिए ढल्केबर–मुजफ्फपुर

    लाइनबाट थप बिजुली सम्भव नै नहुने प्राधिकरण एक प्राविधिकले बताए । ‘ढल्केबरमा २२०-१३२ केभिएको सबस्टेसन निर्माण भए पनि दुई मुलुकबीचको ग्रिड सिंक्रोनाइजेसन नभएका थप विद्युत् ल्याउन सकिँदैन,’ उनले भने, ‘सबस्टेसन आगामी १६ पुस (३१ डिसेम्बर २०१६) भित्र सम्पन्न गर्ने भनिएको छ, तर सिंक्रोनाइजेसनका खासै अध्ययन नै भएको छैन ।’

    हिउँदको लोडसेडिङलाई कम गर्न ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत थप विद्युत् आयात गर्न २२०-१३२ केभिएको सबस्टेसन बनाउन लागिएको हो । सबस्टेसन बनेपछि अहिले आयात भइरहेको ८० मेगावाटसहित यस सबस्टेसनबाट २३० मेगावाट विद्युत् आयातका लागि नेपाल र भारतबीच सहमति भइसकेको छ ।

    दुई मुलुकबीचको प्रसारण लाइन सिंक्रोनाइजेसन भएमा मात्रै थप २३० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘सिंक्रोनाइजेसनका लागि प्राविधिक रूपमा दुई मुलुकका प्राविधिकबाट अध्ययन भइरहेको छ,’ उनले भने ।

    भारतबाट आइरहेको ८० मेगावाट पनि अन्योलमा

    गत वर्ष ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट आयात भइरहेको ८० मेगावाट विद्युत् नेपालले पाउने–नपाउने अन्योल नै छ । ८० मेगावाटसम्म विद्युत् आयात–निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण र भारतको एनटिपिसी विद्युत् व्यापार निगमबीच भएको सम्झौता अगामी पुसको दोस्रो साता (डिसेम्बर) सकिँदै छ ।

    एनटिपिसीले प्राधिकरणलाई मुजफ्फरपुर बिन्दुमा प्रतियुनिट तीन रुपैयाँ ४४ पैसा भारतीय रुपैयाँ (पाँच रुपैयाँ ५० पैसा)मा उपलब्ध गराएको थियो । पछि यसलाई बढाएर तीन रुपैयाँ ६० पैसा भारु (पाँच रुपैयाँ ७६ पैसा) पु-याएको थियो । डिसेम्बरपछि ८० मेगावाट आयात गर्ने या नगर्नेबारे छलफल नै नभएको प्राधिकरण व्यापार विभागका प्रमुख प्रबल अधिकारीले बताए । ल्याउने निश्चित भएपछि मात्रै विद्युत् खरिद दर र  अन्य सर्तबारे भारतीय पक्षसँग छलफल हुनेछ ।

    काठमाडौंमा थप बिजुली ल्याउन पनि समस्या

    काठमाडौं उपत्यकाभित्रको कमजोर वितरण प्रणालीले गर्दा यहाँ थप विद्युत् ल्याउन समस्या हुने देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाको अहिलेको  प्रणालीले पाँच सय मेगावाटभन्दा बढी धान्न नसक्ने बताए । ‘पाँच सय मेगावाटभन्दा बढी विद्युत् ल्याऊँ भन्दा प्रणालीले धान्दैन,’ उनले भने, ‘त्यसैले काठमाडौं उपत्यकाको वितरण प्रणाली सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको छ । काठमाडौं उपत्यकको पिक आवरको विद्युत् माग करिब पाँच सय मेगावाट छ ।

    बढी मात्रमा घरायसी प्रयोजनका लागि प्रयोग हुने भएकाले राति विद्युत्को माग सयको हाराहारीमा झर्ने प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यकाको वितरण प्रणाली सुदृढीकरणका लागि थानकोट–चापागाउँ–भक्तपुर लाइन निर्माण गर्न लागिएको छ । ‘यो लाइन नबनेसम्म काठमाडौं उपत्यकामा विद्युत् आउन सक्छ, तर उपभोक्ताको घरसम्म प्रवाह हुन सक्दैन,’ आयोजना प्रमुख ताराप्रसाद प्रधानले भने । २६ किलोमिटर लाइनमध्ये अहिलेसम्म १२ किलोमिटर मात्रै बनेको छ । ललितपुरको चापागाउँमा स्थानीयको अवरोधले काम रोकिएको छ ।

    ओभरलोड थाम्ने ट्रान्सफर्मर

    छैनन् गत वर्ष भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको अभाव हुँदा उपभोक्ताले खाना पकाउनका लागि विद्युतीय उपकरण प्रयोगमा ल्याएका थिए । ओभरलोड भएपछि ट्रान्सफर्मर पड्किएका थिए, तार जलेका थिए । प्रणालीले धान्न सक्नेभन्दा बढी विद्युत् प्रवाह भएमा गत वर्षजस्तै ट्रान्सफर्मर पड्किने र तार जल्ने सम्भावना रहेको प्राधिकरणका अधिकारी बताउँछन् ।

    स्रोत : सचेन गौतम/नयाँ पत्रिका