निरन्तर बिजुली आपूर्तिको तयारी

    1975

    काठमाडौं- नेपाल विद्युत प्राधिकरणले अहिलेको बिजुली आपूर्तिलाई निरन्तरता दिने गरी काम गरिरहेको छ। भारतबाट आपूर्ति गरेर वा अन्य वैकल्पिक उपायबाटै भए पनि सर्वसाधारणलाई उज्यालो दिने प्राधिकरणको प्रयास छ। भारतबाट थप ८० मेगावाट बिजुली आयात गर्न भारतको मुजफ्फरपुरमा सय एमभिएको ट्रान्सफर्मर जडान गर्ने तयारी भइरहेको जानकारी दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘पुस दोस्रो सातासम्म ट्रान्सफर्मर जडान हुन्छ। त्यसपछि आवश्यक परे ८० मेगावाट थप बिजुली किन्न सकिन्छ।’

    ढल्केबर–मुजफ्फरपुर ४  सय केभी अन्तरदेशीय प्रसारण लाइनबाहेक अन्य ठाउँबाट थप बिजुली ल्याउने अवस्था नरहेको घिसिङले बताए। ‘पूर्वाधारले धानेसम्म आयात गर्ने हो, टनकपुरमा नयाँ ट्रान्सफर्मर राख्ने काम यो हिउँदमा गाह्रो छ,’ उनले भने, ‘यद्यपि, उक्त नाकाबाट १० मेगावाट थप आयात गर्न सकिन्छ।’ प्राधिकरणले टनकपुर बिन्दुबाट अहिले ३० मेगावाट किनिरहेको छ।

    ढल्केबर–मुजफ्फरपुर सहित प्राधिकरणले अहिले भारतबाट करिब ३ सय मेगावाट आयात गरेको छ। स्वदेशी निजी क्षेत्रद्वारा उत्पादित करिब ५० मेगावाट, माथिल्लो मर्स्याङ्दी ‘ए’ बाट २५ मेगावाट र केही मात्रामा कुलेखानी सञ्चालन गरेर उपत्यकासहितको विद्युत माग व्यवस्थापन गरिएको छ।

    प्राधिकरण भार प्रेषण केन्द्रले कम भाग हुने क्षेत्रमा भार कटौती गरेर बढी हुनेमा आपूर्ति मिलाएको छ। यसो हुँदा भएकै बिजुलीबाट पनि सर्वसाधारणलाई राहात दिन सकिने घिसिङको तर्क छ। प्रभावकारी रुपमा ‘लोड’ मिलाउन सकेकाले पछिल्लो दुई महिनामा उपत्यकाका सर्वसाधारणले अँध्यारोको सामना गर्नु परेको छैन।

    प्राधिकरणका अनुसार आगामी पुस दोस्रो सातासम्म १५ मेगावाटको हेवा र माथिल्लो मर्स्याङ्दीको दोस्रो युनिटबाट २५ मेगावाटसहति ५० मेगावाट बिजुली थपिनेछ। यसले पनि लोडसेडिङ व्यवस्थापन गर्न मद्दत पुग्ने प्राधिकरण अधिकारी बताउँछन्।

    ‘एकल प्रयासले लोडसेडिङ हटेको होइन’

    विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नोमात्र एकल प्रयासले उपत्यकामा लोडसेडिङ अन्त्य नभएको बताएका छन्। विगतका सरकार, नेतृत्व र प्राधिकरणका सबै कर्मचारीको प्रयासले जनतालाई उज्यालो दिन सकिएको बताएका हुन्।

    सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा घिसिङले भने, ‘अहिलेको परिणाम विगतदेखिको निरन्तरको प्रयासका कारण हो। यसमा प्राधिकरणका १० हजार कर्मचारीको योगदान छ। यो कुनै चमत्कार होइन र मैलेमात्र जस लिन खोजेको पनि होइन।’

    कुलेखानी सञ्चालन गरेर लोडसेडिङ घटाएको भन्ने चर्चा गलत रहेको उनले दाबी गरे। ‘म कार्यकारी निर्देशक नियुक्त हुँदा कुलेखानीमा पानीको सतह १५२२ मिटर थियो। अहिले १५२३ मिटर छ,’ उनले भने, ‘साँझको उच्च माग हुँदा बढीमा आधा घन्टा सञ्चालन हुन्छ।’

    कार्यक्रममा उपस्थित राजनीतिक दल तथा विश्लेषकले मुलुकलाई लोडसेडिङमुक्त बनाउँदै संस्थागत पुनसंरचना गर्न प्राधिकरणलाई सुझाव दिएका थिए। पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले प्राधिकरणले उत्पादन र प्रसारणको जिम्मा लिएर वितरणको काम सामुदायिक संस्थालाई जिम्मा दिनुपर्ने बताए।

    ‘बिजुली वितरणमा बढीभन्दा बढी समुदाय, नगरपालिका तथा ग्रामीण क्षेत्रका सहकारी संस्थालाई जिम्मा दिए हुन्छ,’ उनले भने, ‘यसो हुँदा प्राविधिक तथा अप्राविधक चुहावट घट्छ। यसले लोडसेडिङ घटाउनसमेत ठूलो मद्दत पुग्छ।’ वितरणको काम समुदायलाई दिँदा प्राधिकरणको कामको बोझ कम हुने र उसले जलाशय आयोजना निर्माणमा ध्यान दिन सक्ने ज्ञवालीको तर्क छ।

    यसैगरी, महासंघका अध्यक्ष नारायण ज्ञवालीले ग्रामीण क्षेत्रको बिजुली वितरणको काम समुदायबाट हुँदा प्राधिकरणको लागत कम हुने बताए। ‘समुदायले बिजुली वितरण गरेका ठाउँमा अप्राविधिक चुहावट ज्यादै कम छ, केही ठाउँमा त शून्य नै छ,’ उनले भने, ‘समुदायले काम गरेका तराइका केही ठाउँमा कमजोरी छ। यस्ता ठाउँको पहिचान गरेर प्राधिकरणले लाइन काट्न सक्नेछ।

     स्रोत: नागरिक समाचार