चैत १७, दैलेख । नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत शुरू गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दूरीमा रहेको द्वारीखोलाबाट ३ दशमलव ७५ मेगावाट विजुली उत्पादन शुरू भएको हो ।
द्वारीखोला आयोजनाको निर्माण कार्य तीन वर्षअघि शुरू गरिएको थियो । रू. ७५ करोडको लागतमा सो आयोजना निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख सौरभ अर्यालले बताए ।
यस्तै ४ दशमलव ५ मेगावाट क्षमताको पादम खोला विद्युत् आयोजनाको निर्माण कार्य पनि शुरू भएको छ । जिल्लाकै अवलपराजुलमा पाँच मेगावाट क्षमताको अर्को आयोजनाको निर्माण समेत शुरू गरिएको छ । रासस