यूएई । उमेरले ४६ बर्षका भए वीरगञ्ज स्थायी घर भएका इञ्जिनियर अफजल हुसेन, तर मनमा काम गर्ने ईच्छा भने उनको अल्लारे नै छ । विद्युतीय पावर प्लान्टका क्षेत्रमा १८ वर्षको अनुभव सँगालेका हुसेन जर्मनीको ईलेक्ट्रोमेकानिकल कम्पनी सिमेन्सका एक्ला नेपाली ईञ्जिनियर हुन्, जो विद्युत उत्पादनमा प्रयोग हुने मेकानिकल पार्टसका साथै तेल तथा ग्यास टर्वाईनका विज्ञ मानिन्छन् ।
अफजलको कामको प्रकृति पनि त्यस्तै छ, सिमेन्सको जर्मनीपछिको दोस्रो ठूलो कार्यलय युएईको दुवईमा रहन्छन्, तर मध्यपूर्व, युरोप, उत्तरअमेरिका लगायत विश्वका विभिन्न देशमा विद्युतीय मेसिनमा खराबी आउनासाथ कम्पनीले उपलब्ध गराउने भिषा र टिकटका साथ त्यही देशमा पुग्छन्, मेसिनको कुन भागमा के खराबी भएको हो पत्ता लगाउँछन् र मर्मतसम्भार गर्ने अर्को टोलीलाई सल्लाह दिन्छन् । त्यत्ति मात्र गरेर पनि उनको काम अझै सकिन्न, मेसिन मर्मत भइसकेपछि फाईनल ईन्सपेक्सन पनि उनैले गर्नुपर्छ । अफजलका अनुसार नेपालबाहेक विश्वका सबै देशले सिमेन्स कम्पनीका मेसिनहरु विद्युत उत्पादनका लागि जडान गरेका छन् ।
जीवनलाई संघर्षको अर्को नाम दिने अफजल हुसेन यो अर्थमा पनि हामी नेपालीका लागि शान हुन्, जो विश्व प्रसिद्घ कम्पनी सिमेन्सका एक्ला नेपाली सिनियर फ्याक्ट फाइण्डर हुन् अर्थात एक्ला ईञ्जिनियर हुन् । यो अवस्थासम्म आईपुग्न अफजलले थुप्रै संघर्ष गरेका रहेछन् । बिजशालाको अनुरोध स्वीकारेपछि हामीले हुसेनलाई दुवईको नेपाली चौक भनिने बरदुवईको मुटुमै भेट्यौं । तीन छोराछोरीका पिता समेत रहेका हुसेन जीवनसंगीनी एक छोरा र एक छोरीका पनि दुवईमै बसोवास गर्दा रहेछन् भने उनकी एउटी छोरीको भने विवाह समेत भइसकेको रहेछ ।
वीरगञ्जको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ३ मा किसान परिवारमा जन्मेहुर्केका यिनले वीरगञ्जकै ठाकुराम क्याम्पसबाट विज्ञान संकायबाट प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेपछि ईञ्जिनियरिङ्ग बढ्ने योजनाका साथ राजधानी हाँकिएका रहेछन् । त्यतिबेला नेपालको एक्लो ईञ्जिनियरिङ्ग कलेज पुल्चोकमा मेकानिकल ईञ्जिनियरिङ्गको पढाई नहुने रहेछ, तर उनको ईच्छा भने मेकानिकलमा । विदेश गएर पढ्नलाई घरको कमजोर आर्थिक अवस्था, विदेशी कलेजले दिने छात्रवृति कोटामा विएससी, एमएससी गरेकाहरुको प्रतिस्पर्धा हुन्थ्यो त कतै नेता मन्त्रीको भनसुन पनि उत्तिकै चाहिन्थ्यो ।
कतै पार नलागेपछि हुसेन छात्रवृति कोटा खोज्दै कहिले भारतीय राजदूतावास, कहिले बंगलादेशी दूताबास त कहिले पाकिस्तानी राजदूताबास धाएछन्, लगभग २ वर्षको अथक प्रयासपछि पाकिस्तानी दूतावासले उनले आईएससिमा प्राप्त गरेको मार्कबाट प्रभावित भएर छात्रवृतिको अवसर दिएछ र बाँकी खर्च घरबाटै खेपेर साढे ४ वर्षको कोर्ष सकाएछन् मेकानिकल ईन्जिनियरिङ्गमा । पढाई त गरे अब चिन्ता थपिएछ रोजगारीको, शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर कहिले विद्युत प्राधिकरण त कहिले उर्जा मन्त्रालय अनि कहिले नेता मन्त्रीका निवास जागिरका लागि यस्तै ठाउँ चाहार्न थालेछन् । तर केही गर्दा पनि जागिरको आश्वासन नपाउँदा साह्रै दुःखी बनेको रहेछन् । त्यतिबेला विज्ञान तथा प्रविधिमन्त्री उनकै गाउँ वीरगञ्जतिरका सुरेन्द्रप्रसाद चौधरी थिए रे, अथक प्रयास गर्दा पनि जागिरको सम्भावना नभएपछि मन्त्रीलाई भेट्न गएका हुसेनलाई चौधरीले नै एउटा चिठी दिएर गोल्छा अर्गनाईजेसनमा जान भनेछन् । मन्त्रीको चिठ्ठी लिएर गोल्छालाई भेट्न गएपछि उनलाई गोल्छाको बाराको सिमरामा रेहेको प्लाई उद्योग नेपाल बोर्ड लिमिटेडमा ५ हजार तलब सहितको जागिर मिलेछ ।
सँगै काम गर्ने भारतीय इञ्जिनियरलाई ४० हजार तलब दिने गोल्छाले नेपाली इञ्जिनियरलाई भने ५ हजारमा काम लगाएको हुसेनले हामीलाई सुनाए । १० महिनासम्म काम गर्दा पनि तलव नबढेपछि हुँदाखाँदाको काम छोडेछन् र फेरि अर्को कामको खोजीका लागि काठमाण्डौमै भौतारिन पुगेछन्् । घरको चामल ल्याएर आफन्तबाट आउने मासिक ५ सय रुपैयाँमा काठमाण्डौमा डेढ वर्ष कटाउन निकै मुश्किल भएको पनि हुसेनले सुनाउन भ्याए ।
घरको अवस्था अनि नपाइने काम खोज्दा खोज्दाकोे थकानले देशमै बसेर केही गर्ने सपनामा तुषारापात भएको रहेछ हुसेनको । अनि सन् २००१ मा साउदी अरबको भिसा लागेछ कन्ट्राक्टिङ्ग कम्पनीमा रोड कन्ट्रक्सन ईञ्जिनियरको रुपमा । खाडीको तातो घाम, रोड कन्ट्रक्सनको काम पद ईञ्जिनियर भएर के गर्नु फोरमेनभन्दा तल्लो जस्तो भएर ४५ डिग्रीको तापक्रमसँग खेल्नु चानचुने कुरा हुँदै होईन । ६ महिना काम गरेपछि मन मरेर आएछ, तर भाग्य बलियो हँुदै गएको रहेछ । सायद कम्पनीको सप्लाईमा पावरप्लान्टमा काम गर्ने अवसर पाएछन् । अब भने पढाई, सिकाई र रुची अनुसारकै काम मिलेछ हुसेनलाई । त्यसमाथि ईटालियन बोसलाई आफ्नो कामले प्रभावित पार्न सफल भएछन्, अनि त अढाई वर्ष कसरी बित्यो पत्तै भएनछ ।
बोस साउदी अरबबाट कतार गएछन् र उनलाई पनि कतार आउन चाहे सहयोग गर्ने बताएछन् त्यसपछि त के चाहियो ? साउदी अरबमा १५ सय रियालमा काम गर्ने ईञ्जिनियरलाई ५ हजार रियालको अवसर जुरेछ । कतारको रास्लाफान स्थित ग्यास प्लान्टमा । त्यहाँ उनी नयाँ मेसिनको कमिसनिङ्ग ईञ्जिनियरको रुपमा अनुबन्धित भएका रहेछन् ।
१० महिनाको छोटो अवधि काम गर्नासाथ उनी फेरी आफूलाई माया गर्ने बोसको साथमा दुवई आएछन् । कामको अनुभव र मेहनती भएको हुँदा त्यहाँबाट उनलाई कामको कहिल्यै खाँचो भएनछ । दुवईमा मित्सुविसि, दुवई आलुमुनियम जस्ता कम्पनीमा काम गरेर अनुभव सँगालिसकेपछि सन्् २००८ मा हुसेन जर्मन कम्पनी सिमेन्समा अनुबन्धित हुन पुगेका रहेछन् ।
फ्याक्ट फाइण्डर इञ्जिनियरको रुपमा र सोही कम्पनीमा आज पनि आफ्नो दमदार स्थानमा छन् । १० वर्षदेखि एकै कम्पनीमा रहेका उनी काम र दामबाट खुशी र सन्तुष्टि पनि उत्तिकै रहेको बताउँछन् । अब त एउटा सफल व्यक्ति हुनुभयो नि ? हाम्रो प्रश्नमा उनि मुस्कुराए मात्र, उनको चाहाना अब नेपालमा गएर आफूले यतिका वर्षसम्म सिकेको सिप देशलाई नदेखाएसम्म सफलताको अनुभूति हँुदैन । “जबसम्म म देशमै गएर केही देखाउन सक्दिँन, बन्द भएका कलकारखाना खोल्न सक्दिँन । तबसम्म म सफल भएको महसुस गर्न सक्दिँन ।” हुसेनको भनाई थियो ।
हिजो पढाई सकेर काम नपाउँदा पनि नेपालमै अवसरको खोजी गरेका अफजल अहिले पनि आफूले विदेशमा हासिल गरेको विज्ञता अनुभव देशमा सदुपयोग गर्न चाहान्छन् । अन्य भन्दा पनि नेपालको विद्युतका क्षेत्रमा आफ्नो अनुभव साट्ने अफजलको ठूलो ईच्छा छ । बिजशालामार्फत हुसेनले आफ्नो जलविद्युतका क्षेत्रको लगाव र यसै क्षेत्रमा काम गरेर देशलाई केही दिने आकाँक्षा नेपाल विद्युत प्राधिकरणका कुलमान घिसिङ्गसम्म पुर्याइदिन आग्रह गरे ।
“म अहिले नेपालमै गएर देशको लागि काम गर्न तयार छु । सेवा गरेबापत अब मलाई पैसा चाहिँदैन, तर यस्तो निश्पक्ष र पारदर्शी नेतृत्वसँग आफ्नो अनुभव साट्न चाहान्छु जो भ्रष्टाचारबाट टाढा छ । ” हुसेनले आफ्नो चाहाना व्यक्त गरे ।
हाल देशमा ठूलो ईच्छा र चाहना भएको स्थायी सरकार भएता पनि सरकारसँग विकासको सही योजना र प्राविधिक समूहको कमी रहेको हुसेनले औंल्याए । नेपाल बाहिर भएका अनुभवी नेपालीलाई देश फर्काउन सरकारले पहल गर्नुपर्ने धारणा राख्ने अफजल आफूजस्तै विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरुलाई चिनेर देश विकासका लागि अवसर दिए बन्द भएका सरकारी उद्योगहरु वीरगञ्ज चिनी कारखाना, हैटौडा सिमेन्ट उद्योग, विराटनगर जुटमिललाई सहज रुपमा संचालन गरेर देखाईदिने बताउँछन् ।
सही योजना बनाउन सके सरकारले प्रस्तुत गरेको नयाँ आर्थिक बर्षको बजेटले धेरै विकासका कार्यक्रम सफल बनाउन सकिने आँकलन हामीसँगको बसाईमै गरे विकासप्रेमी इञ्जिनियरले । जो हरेक कुरामा लालच गर्ने तथा आत्मनिर्भर हुन नसक्ने बानीले गर्दा नेपालीहरु पछि परेको धारणा राख्छन् । हरेक व्यक्तिले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने देश विकासको ढोका खोलिने उनको विश्वास छ ।
नेपालमा जलविद्युतको अवस्थाबारे सोधिएको प्रश्नमा हुसेन भन्छन्–“जलविद्युतका क्षेत्रमा अहिले सफल नेतृत्व छ, सोही अनुसारको प्राविधिक समूह भयो भने यस क्षेत्रमा राम्रो विकास गर्न सकिन्छ ।’
उनका अनुसार हाल नेपालका हरेक विद्युत आयोजनामा भएका मेसिनहरुलाई नयाँ प्रविधिअनुसार अपग्रेड मात्र गर्न सक्यो भने पनि विद्युत क्षमता बढ्नुका साथै हजारौं नेपालीलाई उज्यालोमा राख्न सकिन्छ । साथै फाइबर अप्टिकमार्फत अण्डरग्राउण्ड केवलिङ्ग गर्ने हो भने त विद्युत चुहावट शून्यमै झार्न समेत सकिन्छ । सरकारी तवरबाट आफूलाई सहयोग भए सिमेन्सको जर्मनीस्थित कार्यालयमा आफैं सहयोगका लागि डेलिगेसन समेत लिएर जानसक्ने खुशी राख्ने हुसेनले जर्मनीहरुले नेपालीलाई राम्रो सहयोगीको रुपमा हेर्ने गरेको बताए ।
हिजो इञ्जिनियरिङ्ग पढेर नेपालमै अवसरको खोजी गर्दा अवसर नपाएपछि निराश भएर विदेशिएका अफजललाई जस्ता थुप्रैलाई देशले चिनेको छैन । अहिले उनीजस्तै हजारौं नेपालीहरु विश्वका थुप्रै देशमा उच्च ओहदा र पदमा काम गरिरहेका छन् भने धेरैले नेपालमा आफ्नो क्षमता र सिपको सदुपयोग गर्ने चाहाना पनि राख्छन् । देशले आफ्ना नागरिकको क्षमतालाई नबुझ्दा तथा पहिचान नगर्दा देशको विकास निकै पछाडि धकेलिएको बुझ्न गाह्रो हुँदैन ।
-बिजशाला