तनहुँ हाइड्रोपावरले चरणबद्ध काम थाल्यो

    1102

    आगामी सन् २०२२ सम्ममा विद्युत् उत्पादन गर्न तनहुँ–सेती जलविद्युत् आयोजना ‘तनहुँ हाइड्रो पावर’ ले चरणबद्ध काम थालेको छ।

    उपनिर्देशक लोकप्रसाद नेपालले १ सय ४० मेगावाट क्षमता आयोजना जलाशययुक्त निर्माणका लागि तीन वटा प्याकेज बनाएर काम थालेको बताए। आयोजनाले ड्याम निर्माण, पावरहाउस र प्रसारण लाइन गरी तीन वटै कामलाई समान रूपमा अगाडि बढाएको छ।

    आवश्यक पूर्वाधार निर्माण गरिरहेको आयोजनाले छिट्टै ड्याम निर्माणका लागि ठेकेदार छनोट गर्ने बताएको छ। ‘ठेकेदार छनोटको काम थालिसकेका छौं, सकिनासाथ ड्याम, सुरुङ र पावरहाउसको काम सुरु हुन्छ,’ नेपालले भने, ‘मुख्य काम थालेको ५ वर्षमा विद्युत् उत्पादन गर्न सक्ने छौं।’ निर्माणमा मानवीय अवरोध नआएमा सन् २०२२ सम्ममा सबै काम सकिने उनले बताए।

    आयोजनाले अहिलेसम्म ड्याम र पावरहाउस निर्माणस्थलका लागि हटाइने बस्तीका बासिन्दालाई मुआब्जा वितरण गरिसकेको छ। आयोजना स्थलका विस्थापित ८६ घरधुरीलाई स्थानान्तरण गरिँदै छ। वितरणका लागि भने आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) को तयारी गरेको छ। आयोजनाबाट उत्पादित बिजुली ३९ किमि लामो र २ सय २० केभी प्रसारण लाइनमार्फत भरतपुर सबस्टेसनमा पुर्‍याइने नेपालले बताए।

    परामर्शदाताको विवादले आयोजना एक वर्ष ढिला भएको थियो।

    आयोजनास्थल पुग्ने सडक कालोपत्रेको काम पनि सुरु भएको तनहुँ हाइड्रोपावरका साइट इन्चार्ज विदुर अधिकारीले बताए। सरकारले बजेटमा जलाशययुक्त आयोजनामार्फत लोडसेडिङ अन्त्य गर्ने लक्ष्य राखेको छ। नेपालमा अहिलेसम्म कुलेखानी जलविद्युत् आयोजना मात्र नेपालमा जलाशययुक्त आयोजना सञ्चालनमा छ। आयोजनाले सरोकारवालाबीच नियमित सार्वजनिक सुनुवाइ गर्दै आएको छ। प्रारम्भिक कामकै लागि सेती नदीमा रसुवा कन्स्ट्रक्सनले ८७ मिटर लामो पुल ११ करोड रुपैयाँको लागतमा निर्माण गरिसकेको छ।

    ५० अर्ब ५ करोड रुपैयाँ लागतको आयोजनाका लागि जापानी सहयोग नियोग जाइकाको १८ दशमलव ४ अर्ब, एसियाली विकास बैंकको १५ अर्ब, युरोपियन इन्भेस्टमेन्ट बैंकको ८ दशमलव ५ अर्ब र नेपाल सरकारको झन्डै १० अर्ब लगानी रहने छ। प्रारम्भिक कामअन्तर्गत आयोजनाले १ सय ५० रोपनी जमिनको मुआब्जा पनि वितरण गरिसकेको हो।

    विद्युत्गृह र प्रवेशद्वार तर्फको जग्गा अतिक्रमण गरेकामा मुआब्जा दिइएको हो। बाँध निर्माणले डुबान पर्ने तर्फको मुआब्जा वितरण पनि थालेको छ। काहुँशिवपुर २ स्थित झापुटारदेखि १८ किमि दूरीको भिमादसम्म डुबान पर्छ। झापुटारको पानीलाई १ हजार २ सय मिटर लामो सुरुङ मार्ग बनाई पहराभित्रै विद्युत्गृह निर्माण गर्ने योजना रहेको नेपालले बताए।

    आयोजनामा १ सय १२ मिटर अग्लो बाँध र १ सय २० मिटरको हेडमार्फत विद्युत् उत्पादन हुने छ।

    स्रोत : कान्तिपुर