७ कात्तिक, काठमाडौं । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली ‘घर-घरमा ग्यासको पाइप लाइन’ पुर्याउने घोषणा गर्दा मजाकको पात्र बने । दोस्रोपटक प्रधानमन्त्री भएका बेला गोबरग्यासको उदघाटन गरेपछि झनै हँसिमजाकको पात्र भए ।
तर, तीन वर्षपछि आफ्नो भनाइलाई सच्याउँदै सोमबार प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मैले ग्यासको पाइपभन्दा निकै चर्चाको विषय बन्यो । अब छिट्टै ग्यासको पाइप होइन, बिजुलीको तारबाट चल्ने चुल्होको युगतिर जाँदैछौं ।’
उसो त २ वर्षअघि नै तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले ग्यास विस्थापन गर्ने घोषणा गरेका थिए । अहिले प्रधानमन्त्री स्वयंले पनि यस्तो घोषणा गर्दै एलपी ग्यास विस्थापनको नीतिमा सरकार प्रतिवद्ध रहेको संकेत गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरण पनि केही वर्षभित्रै सबै नेपालीको घरमा खाना बनाउने विद्युतीय इन्डक्सन चुल्होसहितका उपकरण आइपुग्नेमा विश्वस्त छ । अहिले सबै स्थानमा लोडसेडिङ अन्त्य भइसकेकाले विस्तारै इन्डक्सन चुल्होको प्रयोग बढ्दै गएको प्राधिकरणको भनाइ छ ।
चिन्ता छैनः घिसिङ
अहिले विजुलीका ग्राहकलाई ग्यास नै प्रयोग गरिराख्नुपर्ने बाध्यता नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।
थुप्रै निर्माणाधीन आयोजनाहरु सम्पन्न हुने चरणमा रहेकाले अब नेपालमा लोडसेडिङ फर्किने कुनै गुञ्जायस छैन ।
इन्डक्सन चुल्होको प्रयोग बिहान र बेलुकी बढी बिजुलीको माग हुने समयमै हुन्छ । यसो भए पनि माथिल्लो तामाकोसी जलविद्युत आयोजना जस्ता ‘पिक आवर’ (बिहान र बेलुकी) मा पूर्ण क्षतमामा चलाउन सकिने किसिमका आयोजना ग्यास विस्थापनमा सहयोगी बन्ने कार्यकारी निर्देशक घिसिङ बताउँछन् ।
यो आयोजना निर्माणको अन्तिम चरणमा छ । अबको एक वर्षभित्र ४५६ मेगावाटको तामाकोशी आयोजना चलिसक्ने अनुमान छ ।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा मात्रै तामाकोशीसहित ७५५ मेगावाट बिजुली प्रसारण लाइनमा थपिने अनुमान छ । त्यसैले प्राधिकरण अब देशभित्रै विद्युत् उपयोग बढाउँदै लैजानुपर्ने बताइरहेको छ ।
‘तामाकोशी आयोजना सुख्खायाममा पनि पिक आवरमा ४५६ मेगावाटमै चलाउन सकिन्छ,’ कार्यकारी निर्देशक घिसिङले भने,’त्यसैले यो आयोजना आएपछि देशभर नै ग्यास विस्थापन भयो भने पनि हामीलाई लोड व्यवस्थापनमा समस्या पर्दैन । ग्यास विस्थापनको योजना जरुरी छ । यसमा हामीलाई चिन्ता छैन ।’
सबैतिर सरल बनेको ग्यासको प्रयोगलाई हटाउन एकैपटक सकिने अवस्था पनि छैन । त्यसैले अहिलेदेखि नै उपभोक्तालाई विस्तारै इन्डक्सनको प्रयोग बढाउन प्रोत्साहन गर्नुपर्ने घिसिङ बताउँछन् ।
यसो हुँदा प्राधिकरणलाई माग व्यवस्थापनमा असहज नहुने प्राधिकरणको विश्लेषण छ । आजको भोलि नै सबैले ग्यास छाडेर इन्डक्सन नचलाउने भएकाले विस्तारै यसको प्रयोगलाई प्रवर्द्धन गर्दै लैजानुपर्ने अवस्था छ ।
‘एकैपटक सबैले बिजुलीको चुल्हो प्रयोग गरे अहिले सुख्खायाममा केही समस्या हुन सक्छ । तर, तामाकोशी नै आएपछि हामीलाई कुनै चुनौति हुँदैन,’ उनले भने, ‘पिक आवरको म्यानेजमेन्टकै लागि हामीले बेगनास-रुपामा पम्प स्टोरेज आयोजना बनाउन खोजेका छौं । अन्य समयमा पानी तानेर राखेर पिक आवरमा बिजुली निकाल्दा ग्यास चुल्हो विस्थापन लगायतका कारणले सिस्टममा समस्या आउन पाउँदैन ।’
ग्यासभन्दा सस्तो इन्डक्सन
उपभोक्ताले ढुक्कसँग इन्डक्सन चुल्होसहित विद्युतीय कुकर मेसिनहरु खरिद गरेर प्रयोग गर्न सक्ने घिसिङ बताउँछन् । ग्यासभन्दा सस्तो र भरपर्दो हुन्छ । अब निरन्तर विजुली आउने प्रत्याभूति भएकाले उपभोक्ताले ग्यासलाई छाड्दै जानुपर्ने उनको भनाइ छ ।
ग्यास चुल्होभन्दा इन्डक्सन चुहो इफिसियन्सी ८० प्रतिशत बढी हुने कार्यकारी निर्देशक घिसिङ बताउँछन् । अब यसको प्रयोग बढ्दा उत्पादित विजुली स्वदेशभित्रै सक्दो खपत गराउन र त्यसबाट पर्याप्त राजश्व उठाएर प्राधिकरणलाई समृद्ध बनाउन यसले सघाउनेछ ।
ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले विद्युतीय सवारी साधनका साथमा इन्डक्सन चुल्होको प्रवर्द्धन गर्न जरुरी रहेको प्राधिकरण बताउँछ ।
घिसिङका अनुसार एलपी ग्यासभन्दा इन्डक्सनबाट खाना पकाउँदा सस्तो पनि पर्छ । भारतबाट आयातित ग्यासभन्दा विद्युतबाट खाना पकाउँदा उपभोक्तालाई आर्थिक रुपमा फाइदा हुन्छ ।
‘एलपी ग्यासबाट १० लिटर पानी उमाल्न १६ रुपैयाँ खर्च हुन्छ, विद्युत् प्रयोग गर्ने हो भने १० रुपैयाँमै पानी उमाल्न सकिन्छ भन्ने हाम्रो अध्ययनले देखाएको छ’ कार्यकारी निर्देशक घिसिङ भन्छन् ।
विद्युतीय सवारीको सञ्चालन खर्च पनि उस्तै सस्तो छ । उनकाअनुसार पेट्रोल कारलाई प्रतिकिलोमिटर ७ रुपैयाँको इन्धन खर्चिनुपर्छ भने विद्युतीय कारलाई २ रुपैयाँ मात्रै ।
यस्तै डिजेल बसहरुलाई प्रतिकिलोमिटर इन्धन लागत १७ रुपैयाँ पर्दा विद्युतीय बसलाई मात्रै १३ रुपैयाँ खर्चिए पुग्छ । विद्युतीय स्कुटरको प्रतिकिलोमिटर लागत ५० रुपैयाँ हो भने पेट्रोल इञ्जिनवाला स्कुरको प्रतिकिलोमिटर २ रुपैयाँ रहेको घिसिङ बताउँछन् ।
त्यसैले अब इन्डक्सन र विद्युतीय सवारीको प्रयोग बढ्दै गएमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने प्राधिकरणको विश्लेषण छ ।
आधार बनिसक्यो
अहिले १ हजार ४७ मेगावाट ‘पिक डिमान्ड’ छ । विद्युत प्राधिकरणका आयोजनाले ३ सय ८ मेगावाट बिजुली उत्पादन गरिरहेका छन् भने निजी क्षेत्रका आयोजनाबाट ३ सय ७० मेगावाट बिजुली उत्पादन भइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । भारतबाट ३३४ मेगावाट बिजुली भारतबाट आयात हुँदैछ । ३५ मेगावाट बिजुजीको प्रसारणमा अवरोध रहेको प्राधिकरणको तथ्यांक छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएसँगै देश वर्षायाममा बिजुलीमा आत्मनिर्भर हुनेछ । र, केही बिजुली भारतमा ‘इनर्जी बैंकिङ’का लागि निर्यात गर्न सकिनेछ ।
तर, सुख्खायाममा पनि भारतसँग बंकिङ गरेको बिजुली फिर्ता लिने योजना बनेको छ । पिक आवरमा माग बढ्दा भारतबाट बिजुली आयातको बाटो खुल्ला नै छ ।
यसका कारण अब ऊर्जा संकटको डर मान्नुनपर्ने कार्यकारी निर्देशक घिसिङ बताउँछन् ।
प्राधिकरणले पीपीए गरेका थुप्रै आयोजनाहरू धमाधम निर्माणको चरणमा छन् । बरु अहिले पेट्रोलियम पदार्थको आयात अत्यधिक भइरहँदा व्यापार घाटा उच्च छ । इन्धन आयात घटाएर विद्युत् खपत बढाउँदा व्यापार घाटा कम गर्न ठूलो योगदान पुग्ने घिसिङको तर्क छ ।
इन्डक्सन चुल्होको प्रयोग बढ्नुपर्ने गरी आधार तयार भइसकेकाले उपभोक्तालाई ग्यासको विकल्पबारे सोच्न प्राधिकरणको अपील छ ।
: अनलाइनखबर