कुलमानको ‘इनर्जी बैकिङ’: मान्ला त भारतीय पक्षले ?

    13

    वर्षामा भारत निर्यात गर्ने, हिउँदमा उताबाट ल्याउने

    ११ फागुन, काठमाडौं । विद्युत् प्राधिकरणले सुख्खायाममा हुने विद्युत् अभाव टार्न ‘इनर्जी बैंकिङ’को अवधारणा ल्याएको छ । वर्षायाममा उत्पादित बिजुली भारत निर्यात् गर्ने र सुख्खामा उताबाट लिने अवधारणा हो यो ।

    आगामी ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले भारतसँग यस्तो प्रस्ताव लैजाँदैछ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएसँगै नेपाललाई बढी हुने बिजुली भारत पठाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योजना छ ।

    हुन त, यो अवधारणा आर्थिक वर्ष ०६९/७० मै आएको हो । र, सोही वर्षको नेपाल–भारत सचिवस्तरीय बैठकमा यस विषयले प्रवेश पाएको थियो । तर, हालसम्म भारतबाटै वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने बाध्यता रहेका कारण यसलाई प्राथमिकताका साथ हेरिएको थिएन ।

    माथिल्लो तामाकोशी सञ्चालनमा आएसँगै नेपालबाट भारततर्फ विद्युत् पठाउन सम्भव भएकाले यो विषय उठान गर्न लागिएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरे बताउँछन् । भन्छन्, ‘ऊर्जा बैंकिङलाई महत्वका साथ उठाउँदैछौं ।’ मन्त्रिपरिषद् विस्तारपछि ऊर्जा सचिवस्तरीय बैठक आयोजना गर्ने मन्त्रालयको तयारी छ ।

    अधिकांश जलविद्युत् आयोजना ‘रन अफ दी रिभर’ प्रणालीमा छन् । वर्षायाममा पूर्ण क्षमतामा उत्पादन हुन्छ, हिउँदमा पानीको बहाव घट्छ र एकतिहाइ मात्र उत्पादन हुन्छ । सुख्खायाममा विद्युत् अभाव हुनुको कारण पनि त्यही हो ।

    नेपालमा वर्षामा बिजुली बढी हुन्छ, गर्मी छल्न पंखा, कुलर, एसीलगायत प्रयोग गरिँदा भारतमा माग अत्यधिक बढ्छ । भारतको अत्यधिक विद्युत् खपत हुने सिजन नै वर्षायाम हो । हिउँदमा त्यहाँ खपत कम हुन्छ भने नेपालमा उत्पादन घट्छ । यही चक्रलाई व्यवस्थापन गर्न सक्दा दुवै मुलुकमा बिजुलीको उपलब्धता पनि सहज हुन्छ ।

    भारत जलविद्युत्मा पूर्ण निर्भर छैन । जलविद्युत्को क्षमता ५० हजार मेगावाट छ त्यहाँ । तर, थर्मल, सौर्य र हावाबाट उत्पादित बिजुलीले मुलुकको माग धान्दै आएको छ ।

    अर्थात्, भारतको बिजुली ‘मिक्सिङ’ प्रणालीमा छ । तथापि, अत्यधिक खपत हुने समयमा जलविद्युत् नै भारतको पनि व्यवस्थापनको आधार हो ।

    ‘थर्मल प्लान्टबाट तत्काल पिक म्यानेज गर्न सकिँदैन, यसलाई पुनः सञ्चालन गर्नै घण्टौं लाग्छ,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भन्छन्, ‘सोलार पनि भरपर्दाे मानिँदैन, त्यसैले भारतका लागि गर्मी सिजनमा पिक म्यानेज गर्न नेपालबाटै आयातीत बिजुली उपयुक्त हुन्छ ।’

    प्राधिकरणले ‘विहार स्टेट इलेक्ट्रिक बोर्ड’सँग यस विषयमा छलफल गरिरहेको छ । तर, हालसम्म कुनै ठोस सम्झौता हुन सकेको छैन ।

    वर्षाैं अघिदेखि नेपालले यसलाई प्राथमिकताका साथ हेरे पनि भारतले महत्व दिएको छैन । सचिवस्तरीय बैठकमा यो विषय उठान त हुन्छ तर पुनः छलफल गर्ने भन्नेबाहेक निष्कर्ष निस्किँदैन ।

    भारतले इनर्जी बैंकिङलाई महत्व दिएको छैन । इनर्जी बैकिङमा जाँदा नेपालको जलविद्युत्मा विदेशी लगानी बढ्ने भारतीय पक्षको ठम्याइ देखिन्छ । प्राधिकरणका एक अधिकारी भन्छन्, ‘नेपालले यसलाई महत्व दिए पनि आफूसँगको निर्भरतामा कमि आउने बताउँदै भारतले यसमा चासो दिएको छैन, जसका कारण अहिलेसम्म ठोस निर्णय नभएको हो ।’

    केही मुलुकमा यो सफल मोडेल हो । जस्तो– नर्वे जलविद्युत्मा पूर्ण निर्भर मुलुक हो । उसका छिमेकी देशहरु डेनमार्क, स्विडेन र फिनल्यान्ड थर्मल प्लान्टमा निर्भर छन् ।

    गर्मीमा हिउँ पग्लेसँगै नर्वेमा विद्युत् उत्पादन बढ्छ । र, डेनमार्क र फिनल्याडमा निर्यात गर्छ । नर्डिक ग्रिडमार्फत् गर्मीयाममा छिमेकी मुलुकमा विद्युत् वितरण गर्छ भने जाडोमा सोही ग्रिडमार्फत् आयात गर्छ । चिसो बढेसँगै नर्वेमा विद्युत् उत्पादन घट्छ र त्यसबेला डेनमार्कबाट थर्मल प्लान्टबाट उत्पादित बिजुली आयात गर्छ ।

    -अनलाइनखबर